नेपालका १६ जिल्ला कुष्ठरोगमुक्त हुन बाँकी

ललितपुर– नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोगमुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ। ७०औँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालले आयोजना गरेको अन्तरक्रियामा नेपालका १६ जिल्ला कुष्ठरोगमुक्त हुन बाँकी रहेको जानकारी दिइयो।

ती जिल्लामा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम रहेका छन्। मिसनका नेपाल निर्देशक शोभाकर कँडेलले वर्षमा दुई हजारदेखि तीन हजार कुष्ठरोगका नयाँ बिरामी भेटिने गरेको तथ्य राख्दै रोगमुक्त नेपालका लागि सबै क्षेत्रका व्यक्ति तथा व्यक्तित्व मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

Navadurga sun
Godawari sandesh

‘कुष्ठरोग रोगमुक्त नेपालका लागि सबै क्षेत्रका व्यक्ति तथा व्यक्तित्व मिलेरअघि बढ्नुपर्छ। कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने हाम्रो ठूलो इच्छा छ’, निर्देशक कँडेलले भने, ‘आजभन्दा ६६ वर्षअघि यहाँ अस्पलात स्थापना गर्न दिएर गोदावरी नगरपालिका वडा नं ५ र ६ का बासिन्दाले ठूलो गुण लगाउनुभएको छ। जति बेला मिसनका गाडी देख्दा पनि स्थानीयवासी छुन डराउँथे।’

Dadeldhura hospital

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कुष्ठरोगको लक्षण देखिएका मानिसले समयमै उपचार गरे भयावहको स्थिति सिर्जना नहुने बताए। नगरपालिकाका उपप्रमुख मुना अधिकारीले विद्यार्थीलाई पनि कुष्ठरोग र सोको उपचारबारे जानकारी गराउन जरुरी रहेको बताउँदै समाजमा जनचेतना फैलाउने माध्यम विद्यार्थी रहेको सुझाव दिइन्।

स्वास्थ्य विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख विशेषज्ञ डा प्रशन्न नापितले विगतका आवमा मात्रै ११ जिल्लामा यो रोगका बिरामी रहेका भनाई राख्दै चालु आवमा १६ जिल्लामा यस रोगका बिरामी भेटिएका बताए।

ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले मुलुकमा लगभग तीन वर्षअघि भित्रिएको कोरोना महामारीपछि ललितपुर जिल्लामा पनि सो रोगका बिरामी बढेको बताए। ‘यस रोग अन्त्यका लागि ललितपुरमा रहेका महिला स्वास्थ्य स्वयंसेविका साथै जनप्रतिनिधि मिलेर निर्मूल गराउन लाग्नुपर्ने देखिन्छ’, उनले भने।

आनन्दवन अस्पताल सन् १९५७ मा दि लेप्रोसी मिसन अन्तर्राष्ट्रियको आर्थिक सहयोगमा स्थापित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका रूपमा सञ्चालन हुँदै आएको छ। यस अस्पताल सन् २००५ देखि दि लेप्रोसी मिसन नेपाल भन्ने गैरसरकारी संस्थाद्वारा सञ्चालित कुष्ठरोगको विषेशज्ञ अस्पताल हो। यस संस्थामा कुष्ठरोगका लागि ८० शय्या निःशुल्क र ३० शय्या हाडजोर्नी तथा अन्य रोगको लागि सःशुल्क गरी जम्मा एक सय १० शय्या रहेको अस्पतालका प्रसाशक शेरबहादुर गुरुङले जानकारी दिए।

अस्पतालमा कुष्ठरोगको विशेषज्ञ सेवाका साथै हाडजोर्नी, छाला तथा यौनरोग, बालरोग र अन्य सामान्य चिकित्सा सेवाको साथै विशेष फिजियोथेरापी, सर्वसुलभ प्याथोलोजी सेवा, एक्सरे र आवश्यकताअनुसार नक्कली खुट्टाका साथै विशेष जुत्तासमेत उपलब्ध रहेको आनन्दवन अस्पतालका तालिम केन्द्र प्रमुख राजकुमार पौडेलले जानकारी दिए। रासस

Loading...