बैतडी- बैतडीको पाटन नगरपालिकाले दलित बस्तीका अपहेलित नाम फेर्न थालेको छ। नगरपालिकाले अहिलेसम्म सातवटा दलित बस्तीका अपहेलित नाम परिवर्तन गरेर नयाँ नाम राखिसकेको छ। जिल्ला प्रशासन कार्यालय बैतडीको अगुवाइमा असोज पहिलो हप्ता स्थानीय तहका जनप्रतिनिधिले नाम सच्याउने निर्णय गरेका थिए।




यद्यपि सबै स्थानीय तहले निर्णय कार्यान्वयन गर्न तदारुकता नदेखाए पनि पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा भने आफैँ दलितका बस्तीमा पुगेर अपहेलित नाम परिवर्तन गर्ने अभियानमा लाग्नुभएको छ। असोसदेखि माघ पहिलो हप्तासम्म सातवटा दलित बस्तीका अपहेलित नाम फेरिसकेको उनले बताए। उपप्रमुख बोहराले भने, ‘श्रम र सीपका धनी दलित वर्गका नाम अपहेलित हुनु भनेको राम्रो कुरा होइन। यो त नगरपालिकाकै पनि अपमानको विषय हो।’


उनले चार महिनाको अवधिमा सातवटा दलित बस्तीका अपहेलित नाम फेरेर नयाँ नाम राखिएको जानकारी दिए । उपप्रमुख बोहराको अगुवाइमा पाटन नगरपालिका–५ का दलित टोलका नाम फेरेर सिर्जना टोल, रानीघाट, त्यसैगरेर ६ नम्बर वडाका दलित बस्तीको नाम बयलबाटा, ढुङेओखल, तिलगाउँ, खसरबटा र वडा नम्बर १ को दलित बस्तीको नाम रामपुर–सकार राखिएको पाटन नगरपालिकाले जनाएको छ।
पाटन नगरपालिकाका कार्यापालिका सदस्य दलिराम लुहारले बैतडीमा दलित बस्तीका नामनै अपमानजनक हुँदा आफ्नो गाउँरटोलको नाम उच्चारण गर्न नसकिने अवस्था रहेको बताए । उनले नगरपालिकाको अगुवाइमा दलित बस्तीका अपहेलित नाम फेरिँदा खुसी लागेको बताए । नाम फेर्ने अभियानसँगै जातीय विभेद र अपहेलनासम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सँगसँगै अघि बढाइएको पाटन नगरपालिका–१ का वडाध्यक्ष तर्कसिंह ठगुन्नाले जानकारी दिए।




