धनगढी- तेस्रो पटक भएको मतदानबाट सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका भीम भण्डारी सभामुखमा निर्वाचित भएका छन् । माओवादी केन्द्रका भण्डारी मंगलबार बिहान भएको मतदानबाट सभामुखमा निर्वाचित भएका हुन् । उनी बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् ।






कुल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो । जसमा भण्डारीले २९ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा भने २३ मत परेको थियो । यसअघि रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २० र विपक्षमा २८ मत परेको थियो ।





कांग्रेसका दिवानसिंह, गिता चौधरी र ललिता सुनार निर्धारित समयमा बैठकमा उपस्थित हुन नसक्दा रावलले तीन मत कम पाएका थिए ।माओवादीकी लक्ष्मी बिक पनि निर्धारित समयमा प्रदेशसभा भवनमा प्रवेश गर्न नसक्दा रावलको विपक्षमा २८ मत परेको थियो । सुदूरपश्चिममा २८ पुसमा सभामुख चयनका लागि पहिलो पटक मतदान भएको मतदानमा भण्डारीले २६ र रावलले २३ मत पाएका थिए ।
दुवै उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा ३० पुसमा पुनस् मतदान भएको थियो । त्यसमा नागरिक उन्मुक्ति तटस्थ बस्दा दुवैले २२/२२ मत पाएका थिए । बहुमत नपाएपछि ज्येष्ठ सदस्य शिवराज भण्डारीले २ माघका लागि बैठक बोलाएका थिए तर सोमबार राष्ट्रिय शोकका कारण बैठक स्थगित गर्दै आज मंगलबारका लागि तोकिएको हो ।




