धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो पाँच वर्षको कार्यकालको प्रगति विवरण प्रस्तुत गरेका छन् ।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले संरचना र कर्मचारीको अभावका बिच थुप्रै काम भएको दाबी गरेका हुन् । उनले आफ्नो कार्यकालमा सङ्घीयता जग बसाल्ने काम भएको बताए ।

हामीले संघीयताको जग बसाल्ने काम गर्यौँ मुख्यमन्त्री भट्टले भने त्यसैमा टेकेर आगामी सरकारले धेरै काम गर्न सक्छ । आफ्नो कार्यकालमा उनले कृषि, पर्यटन जडिबुटी र ऊर्जालाई प्राथमिकता दिएको बताए । जिल्ला सदरमुकाम सम्म पनि सडक पुग्न नसकेको अवस्थामा उनले अहिले ४ सय किलोमिटर भन्दा बढि सडक कालोपत्रे गरेको मुख्यमन्त्रीको दाबी थियो ।
मुख्यमन्त्री भट्टले आफ्नो कार्यकालमा ५५ पुल बनेका, १९० किलोमिटर पक्की कुलो निर्माण गरेको २८४ किलोमिटर कच्ची कुलो निर्माण गरेको जानकारी दिए । मुख्यमन्त्री भट्टले १२ हजार ९४५ हेक्टरमा सिचाइ पुराएको र १५७ किलोमिटर तटबन्ध बनाएको जनाए ।
मुख्यमन्त्री भट्टले सडक पूर्वाधार शिक्षा र स्वास्थ्यमा धेरै काम भएको जनाए । भोली सुदूरपश्चिम प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त हुँदै छन् । त्यसको पूर्व सन्ध्यामा मुख्यमन्त्री भट्टले सरकारको प्रगति विवरण सुनाएका हुन् ।
