दलको नेता छान्न बसेको कांग्रेस सुदूरपश्चिम समितिको बैठक निष्कर्षविहीन

धनगढी- संसदीय दलको नेता छान्न बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको बैठक निष्कर्षविहीन बनेको छ । मंगलबार बसेको बैठकमा दलको नेतामा धेरैले दाबी गरेपछि बैठक निष्कर्षविहीन भएको हो ।

दलको नेताका लागि छ जनाले दाबी गरेका छन् । कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर प्रदेशबाहिर रहेकाले उपसभापति लोकराज अवस्थीको अध्यक्षतामा बैठक बसेको थियो । दलको नेतामा अछामका मेघराज खड्का, कञ्चनपुरका बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कैलालीका प्रकाश देउवा, कमल शाह र बैतडीका शिवराज भट्टले दाबी गरेका छन् ।

Navadurga sun

प्रदेशसभा सदस्य प्रकाश बमले दलको नेताका सामान्य छलफल भएको बताए । ‘बैठक निष्कर्षविहीन भएको छ,’ उनले भने, ‘अहिले नेतामा दाबी गरेका प्रदेशसभा सदस्यहरूबीच सहमति जुटाउन छलफलमा छौँ ।’ सम्भवत एक–दुई दिनभित्रै दलको नेताको टुंगो लाग्ने उनले बताए ।

दलको नेता चयन गर्न अझै केही दिन लाग्ने प्रदेश महामन्त्री तथा प्रदेशसभा सदस्य मेघराज खडकाले बताए । सहमतिमा नेता चयन गर्नेगरी अघि बढेको उनले बताए । सहमतिमा नेता चयन गर्न नसकिए निर्वाचन हुने उनले बताए ।

प्रदेशमा ५३ सिट रहेकोमा १९ सिट जितेको कांग्रेस पहिलो पार्टी हो । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।

ADD Khali jpg
Loading...