
दार्चुला- दार्चुलाको व्यास गाउँपालिका–१ छाङरु नजिकको ज्याक्तिमा फोन सेवा अवरुद्ध भएको छ । जंगलमा लागेको डढेलोले टावरमा रहेका सोलारका तार जलेपछि फोन सेवा अवरुद्ध भएको नेपाल टेलिकमले जनाएको छ । बिहीबार दिउँसो टावर नजिकको जंगलमा आगलागी हुँदा टावरको लिंक सिस्टमअन्तर्गत सौर्य प्रणालीमा जडान गरेका तार जल्दा फोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए । आगलागीले सोलार सिस्टममा जडान गरिएका तार नष्ट भएका छन् ।



छाङरु गाउँबाट टावर रहेको ज्याक्ति क्षेत्रसम्म पुग्न पैदल ३ घण्टा लाग्छ । टावर नजिकै रहेको जंगलमा लागेको आगो छाङरुमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्नेबारे यकिन हुन सकेको छैन । अहिले व्यास गाउँपालिका–१ को छाङरु र टिंकर गाउँका स्थानीय चिसो छल्न बेंसी सदरमुकाम खलंगा सरेका छन् । व्यासको छाङरुमा प्रहरी र सशस्त्र प्रहरीको टोली छ ।




