विद्युत् विस्तार नहुँदा सोलारको भरमा काम चलाउँदै बडिकेदार गाउँपालिका

डोटी- राष्ट्रिय प्रसारणको विद्युत् सेवा विस्तार नभएका कारण डोटीको बडिकेदार गाउँपालिकाले वर्षौँदेखि सोलार बत्तीको भरमा कामकाज गर्दै आएको छ । पानी पर्दा वा बादल लागेको दिनमा सोलार बत्तीले काम नगर्दा समस्या हुने गरेको गाउँपालिकामा कार्यरत कर्मचारीको गुनासो छ ।

बडिकेदार गाउँपालिकाको वडा नम्बर–१ वीपीनगर कापडी गाडमा विद्युतगृह निर्माण गरिएको भए पनि अहिलेसम्म पालिकाका सबै वडामा विद्युत् विस्तार हुन सकेको छैन । गाउँपालिकाको केन्द्रमा समेत विद्युत् पुग्न नसकेका कारण पालिकाको कामकाजमा समस्या हुँदै आएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पालिका सरकार स्थापना भएको ६ वर्ष भइसक्दा पनि गाउँपालिकाको केन्द्र खड्यौलीमा विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन । विद्युत् सेवा नहुँदा फलफूलसँगै तरकारीको भण्डारणका लागि तयार गरिएका शीतभण्डार उपयोग हुन नसकेको बडिकेदार गाउँपालिका–१ का स्थानीय बासिन्दा रोजबहादुर कलेलले बताए ।

पालिकामा विद्युतगृह निर्माण भएको र बिजुली कैलालीसम्म पुगेको तर पालिकाको केन्द्र र स्थानीय बासिन्दाले उपयोग गर्न नपाएको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रसारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्षअघि बोलपत्र आह्वान गरी तार तान्ने र पोल गाड्ने काम सुरु गरे पनि गाउँपालिकाको कुनै पनि वडामा विद्युत् लाइन नपुगेको बडिकेदार गाउँपालिका–५ का प्रकाश कलेलले गुनासो गरे ।

गाउँपालिका अध्यक्ष भैरवबहादुर साउँदले वडा नम्बर–१ वीपीनगरमा रहेको विद्युत् सेवालाई थप प्रभावकारी बनाउँदै गाउँपालिकाको केन्द्रसँगै वडा १, २, ३, ४ र ५ मा विस्तार गर्ने योजना रहेको बताउनुभएको छ । अबको ५ वर्षमा सबै वडामा बिजुली विस्तार गर्ने उनको भनाइ छ ।

विद्युत् प्राधिकारण दिपायल कार्यालयका प्रमुख राजेन्द्रलाल देवले बडिकेदार गाउँपालिकामा विद्युत् विस्तारका लागि ३१ करोड ४४ लाख ९४ हजार रुपैयाँ लागत लाग्ने विवरण पेस गरिएको भए पनि १२ करोड रुपैयाँ मात्रै विनियोजन गरिएका कारण समस्या भएको जानकारी दिए ।

Loading...