नहर परीक्षण भयो, पानी चलेन

कञ्चनपुर- महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत निर्माणाधीन मूल नहर परीक्षण भए पनि पानी सञ्चालन हुन सकेको छैन । शाखा नहरहरू निर्माण नहुँदा पानी सञ्चालन हुन नसकेको हो । असार दोस्रो साता नहरमा पानी छाडेर परीक्षण गरिएको थियो । असार १५ गते धान दिवसका दिन नहरकै पानीबाट बेदकोट नगरपालिका ४ मा बैतडामा रोपाइँ पनि लगाइएको थियो । तर त्यसपछि भने पानी बन्द भएको छ ।

‘दुवै पक्षबाट संयुक्त रूपमा उद्घाटन गर्ने योजना छ, तर हालसम्म उद्घाटनको टुंगो लागेको छैन,’ महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इनिजनियर शम्भु पण्डितले भने, ‘नहरमा पानी सञ्चालन गरेर पनि कहाँ फाल्ने, शाखा नहर निर्माण भएको छैन ।’ उनका अनुसार भारतीय पक्षले संयुक्त रूपमा औपचारिक उद्घाटनपछि मात्रै पानी छाड्ने जानकारी दिएको छ ।

Navadurga sun

आयोजनाअन्तर्गत हालसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको छ । जसमध्ये २३ किलोमिटरमा पानी सञ्चालन गर्न सकिने भएको छ । बाँकी ५ किलोमिटरमा पनि काम अन्तिम चरणमा पुगेको छ । ‘काम अन्तिम चरणमा पुगेको छ,’ सीडीई पण्डितले भने, ‘त्यसपछि २८ किलोटिरमै पानी सञ्चालन गर्न सकिनेछ ।’

उनका अनुसार २८ किलोमिटरदेखि ४८ किलोमिटर मूल नहरका लागि पनि डिजायन इस्टिमेट बनेर विभागबाट स्वीकृत भइसकेको छ । यसै वर्ष ठेक्का प्रक्रियामा जाने योजना रहेको उनले बताए । डेढ दशकअघि निर्माण सुरु भएको आयोजनाअन्तर्गत हालसम्म २८ किलोमिटर मूल नहर मात्रै निर्माण भएको छ । वजेट अभावका कारण आयोजनाले गति लिन सकेको थिएन । तीन वर्षअघि आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणापछि निर्माण कार्यले गति लिएको छ ।

अहिले मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माणका लागि ठेक्का सम्झौता भएको छ । दुई वर्षभित्र निर्माण कार्य सक्ने गरी दुई खण्डमा ठेक्का भएको सीडीई पण्डितले बताए । उक्त क्षेत्रमा २२ वटा शाखा नहर निर्माण गरिने छ । आयोजनाअन्तर्गत १५१ किलोमिटर मूल नहर निर्माण हुनेछ । आयोजना सम्पन्न भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।

टनकपुर बाँधदेखि नेपाल भारत सीमासम्म १२ सय मिटर नहर भारतीय पक्षले नै निर्माण गर्नुपर्ने थियो । नेपालले नहर निर्माण सुरु गरेको लामो समयपछि भारतले काम सुरु गरेको हो । यो आयोजनाअन्तर्गत १६ किलोमिटर मूल नहर निर्माण हुनेछ । दोधारा चाँदनीको ३५ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । उक्त क्षेत्रमा पनि शारदा नहरबाट नेपाल–भारत सीमासम्मको नहर भारतले नै निर्माण गर्नुपर्ने छ ।कान्तिपुरबाट

 

ADD Khali jpg
ADD Khali jpg
Loading...