दार्चुलाका नरसिंह विष्ट हत्या प्रकरण: सीआईबीले थाल्यो अनुसन्धान

दार्चुला- दार्चुलाका नरसिंह विष्टको शव अझै आफन्तले बुझ्न मानेका छैनन् । ब्याँस गाउँपालिका-४, डोकटका विष्टको शव ४ मंसिरको चुनावकै दिन घर नजिकैको खोलामा फेला परेको थियो । ३ मंसिर रातिदेखि बेपत्ता भएका ३५ वर्षीय विष्ट भोलिपल्ट (४ मंसिरमा) मृत फेला परेका थिए । विष्टको शरीरभरी चोटपटक लागेको अवस्थामा शव फेला परेको थियो । गाउँमा होटल चलाउँदै आएका विष्टलाई अज्ञात समूहले कुटपिट गरी हत्या गरेको आशंका गरिएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खलंगामा राखिएको छ ।

Ganyapdhura gau

तर, विष्टका आफन्तले भने दोषीलाई कानुनी कारबाही नभएसम्म शव अस्पतालबाट नउठाउने अड्डी कसेका छन् ।आफन्तले सत्ता गठबन्धनका कार्यकर्ताले हत्या गरेको आरोप लगाएका छन् । ४ मंसिरमा विष्ट भोट हाल्न नआएपछि स्थानीयले खोजी गर्दा मृत फेला पारेका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

स्थानीयका अनुसार ३ मंसिरको राति नेपाली कांग्रेस र माओवादी केन्द्रका युवा विष्टको गाउँ पुगेका थिए । त्यही राति पूर्वगाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीको मोटरसाइकलमा समेत आगजनी भएको थियो । आगजनी कसले गरेको हो त्यो पनि खुलेको छैन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी तर्कराज पाण्डेयका अनुसार घटनाको अनुसन्धान भइरहेको छ । ‘हामी अनुसन्धान गर्दैछौँ । शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिन्छ,’ पाण्डेयले भने ।

ब्याँस गाउँपालिका उपाध्यक्ष विनोद कुँवरका अनुसार पनि घटनाको प्रकृति हर्दा हत्या भएको देखिएको बताउँछन् । उनी भन्छन्, ‘मोटरसाइकलमा आगजनी र विष्टको हत्या एउटै समयमा भएको जस्तो देखिन्छ । त्यसैले हत्याको आशंका हाम्रो पनि छ । प्रहरीले अनुसन्धान गर्दैछ । सत्य तथ्य अनुसन्धानले देखाउँला ।’

कुँवरका अनुसार हत्या भएको दिन विष्टसँग १२ लाख रुपैयाँसमेत रहेको उनकी श्रीमतीले प्रहरीलाई बताएकी छिन् । उक्त रकम कहाँ गयो र कसले दिएको हो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ । दार्चुलाबाहेक चुनावकै दिन बाजुरा त्रिवेणी चेतन अयडीको समेत हत्या भएको थियो । उक्त घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । चेतनका बुबा गगन अयडीले २२ जनाविरुद्ध हत्याको आरोपमा किटानी जाहेरी दिएका छन् ।

प्रहरी स्रोतका अनुसार स्थानीय प्रहरीबाहेक दार्चुलाका विष्टको हत्या अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत घटनास्थल पुगेर अनुसन्धान थालेको छ । केही युवालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Couple
Loading...