सुदूरपश्चिममा ३४ दल चुनावी मैदानमा

धनगढी- आइतबार अर्थात् ४ गते हुने आम निर्वाचनका लागि सबै तयारी पुरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट ३२ प्रदेश र १६ प्रतिनिधिसभा सदस्य चयनका लागि आम निर्वाचनको तयारी पुरा भएको हो। मतदान सम्पन्न भएको ५ दिनभित्रै प्रत्यक्षतर्फको सम्पुर्ण नतिजा आइसक्ने गरी तयारी थालिएको आयोगले जनाएको छ ।

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूणर् तयारी पुरा भइसकेको निर्वाचन आयोग सुदूरपश्चिम प्रदेशका निमिक्त प्रमुख प्रेमराज भट्टले बताए । उनले भने, ‘आम निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट ३४ दलको सहभागिता रहनेछ, मतदान भएको ५ दिनभित्रै पहिलो हुने प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसक्ने छ । बाँकी एक साताभित्रै अरु काम सम्पन्न हुनेछ ।’ यसका लागि आवश्यक कर्मचारीसहित सबै प्रबन्ध मिलाइसकिएको भट्टले बताए ।

Navadurga sun

आम निर्वाचनमा सुदूरपश्चिमबाट ६८ प्रतिशतको हाराहारीमा मत खस्ने आंकलन गरिएको छ । मतदाता शिक्षासँगै नमुना मतदानसमेत सफल रुपमा सम्पन्न भइसकेकाले मत बदर अत्यन्तै कम हुने आयोगको दाबी छ ।

कैलालीबाट सबैभन्दा बढी प्रतिनिधिसभाका लागि पाँच तथा प्रदेशसभाका १० सदस्य छनोट हुने छन् । कञ्चनपुरबाट प्रतिनिधि सभाका तीन र प्रदेशका ६, अछामबाट प्रतिनिधिसभाको दुई र प्रदेशकासभाका ४ सदस्य छनोट हुने छन् ।

अन्य पहाडी जिल्ला डोटी, डडेलधुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुलाबाट एक-एक जना प्रतिनिधि र दुई/दुई जना प्रदेशसभा सदस्य चुनिन लागेका हुन्। कानुनी व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यको प्रत्येक निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि दुई-दुई जना निर्वाचित हुन लागेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार मतदाता छन् । सबैभन्दा बढी कैलालीमा ५ लाख ३५ हजार ५१४ र कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ तथा अछाममा एक लाख ५८ हजार ६५७ मतदाता छन् । सबैभन्दा कम बाजुरामा ८३ हजार ५६७ मतदाता छन् ।

बझाङमा एक लाख २२ हजार ३७६, दार्चुलामा ८९ हजार १५४, डडेलधुरामा ९१ हजार २०१, बैतडीमा एक लाख ५० हजार १२९ र डोटीमा एक लाख २४ हजार ८७० मतदाता छन् । प्रदेशभर एक हजार १६१ मतदानस्थल र दुई हजार १४६ मतदान केन्द्र तोकिएको छ ।

ADD Khali jpg
Loading...