

डोटी- डोटीको बगलेक अर्थात् मिनी खप्तड वनभोज (पिकनिक) जानेहरूको रोजाइमा परेको छ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारमा देउसीभैलो खेल्दा सङ्कलन भएको रकमले वनभोज जानेहरूले हिजोआज बगलेक रोज्न थालेका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका २ मा रहेको बगलेक जिल्ला सदरमुकाम सिलगढीबाट झन्डै ९/१० किलोमिटर टाढा रहेको छ ।


खप्तडको प्रवेशद्वारमा रहेको बगलेकमा खप्तडको झल्को दिने सुन्दर फाँट रहेकाले अहिले पिकनिक जानेहरूको भिड बढ्न थालेको स्थानीयवासी गणेश ठकुल्लाले बताए। उनले भने, ‘बगलेक एकान्त अनि रमणीय ठाउँ भएकाले पिकनिक गर्नेको भिड बढेको हो, खप्तडकको जस्तै झल्को दिने भएकाले पनि यहाँ मान्छे आउने गरेका छन् ।’ बगलेक क्षेत्रको छेउमा वाराही मन्दिर रहेकाले यहाँ पिकनिकसहित मन्दिरमा पूजाआजाका लागि आउनेहरूको भिड बढ्दै गएको स्थानीयवासी बताउँछन् ।



सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड पुग्न नसक्ने धेरैजसो बगलेक गएर चित्त बुझाउने गरेका अर्का स्थानीयवासी दिनेशबहादुर साउदले बताए। उनले भने, ‘बगलेक अग्लो डाँडामा रहेको रमणीय पर्यटकीय स्थल हो । खप्तड जान नसक्नेहरू हिजोआज यहाँ आएर रमाइलो गर्ने गर्छन् ।’ विशेषगरी दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिका नजिकका नागरिक यहाँ पुग्ने गरेका छन् ।
प्रदेश सरकारले झिग्रानासम्मको सडक कालोपत्रे गरिदिएपछि बगलेक पुग्न सजिलो भएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए। उनले भने, ‘सडक पक्की भएको छ, यात्रुले सहजै गाडी पाउने भएकाले पनि अहिले बगलेक आउने बढेका हुन् ।’
बगलेक पर्यटकको रोजाइमा परेको भए पनि सरसफाइ प्रमुख चुनौती बनेको स्थानीयवासी शंकर बोहराले गुनासो गरे । उनका अनुसार बगलेकमा पर्यटकको चहलपहल बढेसँगै फोहर व्यवस्थापन नहुँदा यो क्षेत्र कुरुप बन्दै गएको छ । आन्तरिक पर्यटकको रोजाइमा परेको बगलेकको विकासका लागि सरोकारवालाले पर्याप्त काम नगरेको पूर्वीचौकी २ का स्थानीयवासी दिलबहादुर साउदको आरोप छ ।





