कैलालीका किसानलाई धान भित्र्याउने चटारो

कैलाली– तिहारमा घर झिलिमिली पारिएका छन्। कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन्। तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन्। दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ। तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन्।

दीपावलीको चौथो दिन लागिसक्दा पनि अधिकांश किसान धान भित्र्याउनमा व्यस्त छन्। तयार भएको धान मौसम प्रतिकूलताका कारण काट्न नपाएका किसान यतिखेर मौसमले साथ दिएकाले धानखेतमै व्यस्त छन्। ‘दशैंमै धान बाली तयार थियो, मौसमको सूचनाले काट्न पाइएन, त्यसपछि मौसम सफा भएपछि काट्न थाल्यौं, अहिले पनि मौसमको के भर त्यसैले हामी धान स्याहार्नमै व्यस्त छौं’, किसान पल्टु चौधरीले भने, ‘खानका लागि धान, वस्तुभाउका लागि पराल पनि भण्डारण गर्नुपर्‍यो। अहिले तिहारमा भुलेमा खेतमै धान सकिन्छ।’

Navadurga sun

उनी भाइटीकाको एकदिन मात्रै रमाइलो गर्नेगरी परिवार काममा जुटेका बताउँछन्। ‘चार बिघा खेत काटिसक्यौं, अहिले धान दाउने (थ्रेसिङ) गर्ने र धान र पराल भण्डारणको काम चलिरहेको छ’, उनले भने, ‘बढी भएको धान बिक्री गरेर हिउँदे खेतीका लागि आवश्यक मल, बीउको जोहोसमेत गर्न आवश्यक छ।’ धान तयारी भएका बेला मौसम प्रतिकूलताले दशैंपछि मात्र धान कटानी थालेका किसानहरु अहिले दीपावलीमा धान कटाइसँगै भित्र्याउनमा व्यस्त रहेका छन्। दीपावली लागे पनि किसानलाई खासै नछोएको टीकापुर बनगाउँका किसान मानबहादुर चौधरीले बताए।

‘धान भित्र्याउने कि तिहार मनाउने, अन्न भित्र्याउँदा वर्षभरि खान पाइएला’, उनले भने, ‘अहिले धान नभित्र्याए भोकमरी हुने जोखिम छ। अधिकांशको धानबाली बाढीले सक्यो, बचेका किसानहरु खेतमा छौं।’ गतवर्ष धान भित्र्याउने बेला आएको बाढीले किसानको धान बालीमा नोक्सानी गरेको हुनाले यस वर्ष किसानहरु दीपावली पर्व नमानेर खेतमा छन्। वर्षदिनका लागि आवश्यक अन्न भएकाले समयमा धान बाली भित्र्याउन नपाए खाद्यान्नको संकट आउन सक्ने भएकाले दीपावलीमा पनि खेतमा काम गरिरहेको राजकुमारी चौधरीले बताइन्।

‘गत वर्ष बाढीले सबै धान बगायो, यस वर्ष पनि केही किसानको बाला छैन, हाम्रो जोगिएको धान स्याहार्न थालेका छौं, यो मौसमको भर छैन’, उनले भने, ‘धान पनि काट्न ढिला भएकाले खेतमै झर्न थालेको छ।’

चाडपर्व सबैका लागि रमाइलो र महत्वपूर्ण हुन्छ। वर्षदिनमा आउने पर्व र खेती उस्तै हुन्छ। तर पर्व लागे पनि मुख्य दिनबाहेक अन्य दिनमा खेतमा काम गर्दा केही फरक नपर्ने किसानको भनाइ छ। भाइटीकाको एक दिन दीपावली भव्यरुपमा मनाउने तयारी भइरहेको तर अन्य दिनमा खेतमा काम गर्नुपर्ने भएकाले काम गरिरहेका किसान सीता चौधरीले बताइन्।

‘बल्लबल्ल बाढीबाट बच्यौं, धान नस्याहारे के खानु, अब तिहारभन्दा पनि धान स्याहारेमा वर्षभरि पेट भोको रहँदैन’, उनले भनिन्, ‘सबै परिवार, हाम्रा छिमेकीहरु पनि खेतमै छौं, तिहारमा देउसीभैलो खेल्नेहरु आउँछन् भनी एकरएकजना घरमा बस्ने अरू सबै खेतमा पस्ने गरेका छौं।’गत असोजको अन्तिम बाढीले यहाँ धानबालीमा क्षति पुर्‍याएको छ। बाढीले टीकापुरमा करिब २० प्रतिशत धानबाली नोक्सान भएको पालिकाले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...