

बैतडी- बैतडीको एक विद्यालयका विद्यार्थीले जिल्ला प्रशासन कार्यालय बैतडीमा धर्ना दिएका छन् । दरथचन्द नगरपालिका–५ सुन्दरखालीको दशरथचन्द माद्यमिक विद्यालयमा भलिबल खेल्दा हल्ला भएको भन्दै कुटपिट गर्नेलाई काबारहीको माग राख्दै विद्यार्थीहरु जुलुससहित धर्ना दिन जिल्ला प्रशासन कार्यालय पुगेका हुन् ।



स्थानीय सुदीप चन्दले विद्यालयमै आएर कक्षा ९ मा अध्ययनरत विद्यार्थी प्रेम चन्दलाई कुटपिट गरेको भन्दै न्यायको माग गर्दै विद्यार्थी जुलुससहित प्रशासनमा धर्ना दिएका हुन् । प्रेम चन्दको घाँटी, हात र ढाडमा चोट लागेको विद्यालयले जनाएको छ ।


भलिबल खेलाइरहेका नेपाली सेनाका खेल प्रशिक्षकमाथि पनि अभद्र व्यवहार गरेको विद्यार्थीहरुको भनाइ छ । आरोपित पक्षले भने कुटपिट नगरेको तर हल्ला नगर्नु भनेको प्रतिक्रिया जनाएको छ ।