कैलालीको गोदावरीबाट बर्गिकरण सहितको परिचय पत्र वितरण कार्य सुरु
गोदावरी ३ का २६ जना किसानलाई बर्गिकरण सहितको परिचय पत्र वितरण गरी उक्त कार्यको थालनि
अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा सुदूरपश्चिममै पहिलो पटक बर्गिकरण सहितको परिचय पत्र वितरण कार्य सुरु गरिएको छ । शनिबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिका वडा नं. ३ का २६ जना किसानलाई बर्गिकरण सहितको परिचय पत्र वितरण गरी उक्त कार्यको थालनि गरिएको हो ।


उक्त कार्यक्रममा प्रमुख अतिथि रहेका गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले परिचय पत्र वितरण गरेका थिए । गोदावरी नगरपालिकाको आयोजना, केयर नेपाल र राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहकार्यमा संचालित कार्यक्रम अन्तरगत गोदावरीमा किसानहरुलाई परिचय पत्र वितरण सुरु गरिएको छ ।


किसानहरुलाई मापदण्डका आधारमा रातो, सेतो, पहेलो र निलो रंगको परिचय पत्र वितरण गरिने उक्त कार्यक्रममा जनाइएको छ । नगरप्रमुख भट्टले बर्गिकरण सहितको परिचय पत्रले नगरपालिकाबाट उपलब्ध गराइने कृषिसंग सम्बन्धित सेवा सुविधालाई पहिचान पत्रको आधारमा व्यवस्थित तरिकाले अगाडी बढाउन सहज हुने समेत बताए । आफूहरुले चुनावको बेलामा बोलेका कुरा पुरा गर्ने क्रममा बिभिन्न संघसस्थाहरुको सहकार्यमा परिचयपत्र वितरण गर्न लागिएको उनले बताए ।
उनले नगरपालिकाको वडा नम्बर ३ मा १ हजार ४ सय ४३ जनालाई बर्गिकरण सहितको परिचय पत्र वितरण गरिने बताए । ‘आज यो कामको थालनी भएको छ । बर्गिकरण भएर परिचय पत्र तयार भएका किसानहरुले अब वडा कार्यालयबाट यो कार्ड पाउनु हुनेछ’ उनले भने ‘गोदावरी नगरपालिकामा १५ हजार ६ सय ६६ जनाले यो कार्ड पाउने छन ।’ उनले बर्गिकरणका आधारमा परिचय पत्र वितरण गरिएपछि नगरपालिकाबाट कृषिका कार्यक्रम संचालन गर्न सहज हुने बताए ।
राष्ट्रिय कृषक समुह महासंघ नेपालका केन्द्रिय अध्यक्ष नवराज बस्नेतले धेरै प्रयास गर्दा पनि किसानहरुका समस्य ज्यूँ का त्युँ रहेपछि बर्गिकरण सहितको परिचय पत्र वितरणको योजना अघि सारिएको बताए ।
उनले हाल यो कार्यक्रम देश भरीका १३ वटा स्थानीय तहमा संचालनमा भएको र जसमध्ये सुदूरपश्चिममा कैलालीको गोदावरी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कार्यक्रम संचालनमा रहेको बताए । उनले बर्गिकरण सहितको परिचय पत्र वितरणको काम भने सुदूरपश्चिममै पहिलो पटक गोदावरी नगरपालिकाबाट भएको बताए ।

राष्ट्रिय कृषक समुह महासंघ नेपालका सुदूरपश्चिम अध्यक्ष प्रकाश थापाले भूमिहिन, सिमान्त, मजदुर किसानलाई रातो, साना किसानलाई सेतो, मध्यम किसानलाई पहेलो र ठूला किसानलाई निलो परिचय पत्र वितरण गरिएको बताए ।
उनले रातो परिचय पत्र पाउने किसानको लागि भूमिको स्वामित्व नभएको वा ०.१ हेक्टर भन्दा कम जमिन भएको वा खेतिगर्ने वा कृषि मजदुरको रुपमा काम गर्ने गरी जिविकोपार्जन गर्ने र बार्षिक अधिकतम १ लाख सम्म कृषि आम्दानी भएको हुनुपर्ने मापदण्ड तोकिएको बताए ।
त्यस्तै सेतो परिचय पत्र पाउने किसानको लागि चार जनाको परिवारलाई जीविकोपार्जन गर्नुपग्ने कृषि व्यवसाय वा ०.५ हेक्टर सम्म खेती योग्य जमिन भएको र १ लाख देखि ५ लाख सम्म कृषि आम्दानी भएको मापदण्ड तोकिएको छ ।
पहेलो परिचय पत्र पाउने किसानको लागि चार जना भन्दा बढिको परिवारलाई जीविकोपार्जन गरी थप आम्दानी गर्ने, तोकिएको मापदण्ड बमोजिमको व्यवसाय वा ०.५ देखि २ हेक्टर सम्म कृषि योग्य भूमि रहेका वा खेती गर्ने र ५ देखि १५ लाख सम्म बार्षिक कृषि आम्दानी भएको हुनुपर्नेै मापदण्ड तोकिएको छ ।
त्यस्तै निलो परिचय पत्र पाउने किसानका लागि २ हेक्टर भन्दा माथि कानुन बमोजिम कृषि भूमि वा खेती गर्ने र बार्षिक १५ देखि ५० लाख सम्म बार्षिक कृषि आम्दानी भएको हुनुपर्ने मापदण्ड तोकिएको राष्ट्रिय कृषक समुह महासंघ नेपालका सुदूरपश्चिम अध्यक्ष थापाले बताए ।
उनले बर्गिकरणका आधारमा रातो, सेतो, पहेलो र निलो परिचय पत्र भएका किसानहरुलाई क्रमश १०० प्रतिशत, ७५ प्रतिशत, ५० प्रतिशत र २५ प्रतिशत अनुदान दिने मापदण्ड बनाइएको बताए । गोदावरी नगरपालिकामा किसान परिचय पत्र वितरणका लागि राष्ट्रिय कृषक समुह महासंघ नेपाल र नगपालिका बिच गत बर्षको फागुन २५ गते नै हस्ताक्षर भएको थियो ।
नगरपालिकाको कृषि शाखा मार्फत संचालन हुने उक्त कार्यक्रमका लागि नगरपालिको कार्यपालिकाबाट किसान परिचयपत्र वितरण एवं सेवा सुविधाको उपलब्धता सम्बन्धि कार्यविधि २०७८ निर्माण गरिएको छ ।