बैतडी- महाकाली करिडोरको स्थलगत अवलोकन गर्न बैतडीको पञ्चेश्वर आइपुग्नुभएका नेपाली कांग्रेसका नेता रमेश लेखकसँग पञ्चेश्वरका स्थानीयले करिडोरसँगै महाकाली नदीमा पुलको माग राखेका छन् । महाकाली नदीमा पुल नहुँदा डुङ्गामार्फत जोखिम मोलेर नेपाल–भारत यात्रा गर्नुपरेकाले पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका स्थानीयले नेता लेखकसँग महाकाली नदीमा झोलुङ्गे पुल निर्माणका लागि पहल गरिदिन माग गरेका हुन् ।



‘जनताको साथमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधि भएर बैतडी आइपुग्नुभएका नेता लेखकले भेटका क्रममा महाकाली नदीमा झोलुङ्गे पुल निर्माणका लागि भारतीय दूतावास र परराष्ट्र मन्त्रालयमार्फत दुई देशबीच छलफल गर्ने आश्वासन दिनुभएको छ । नेता लेखकले भने, “पाँच वर्ष पहिले आफू भौतिक पूर्वाधार विकासमन्त्री भएका बेला महाकाली कोरिडोरका लागि बजेट विनियोजन गरेर पहिलो पटक ठेक्का लगाउने काम सुरु गरेको थिएँ । अहिले के कसरी काम भइरहेको छ भनेर अवलोकन गर्न आएको हुँ । महाकाली नदीमा पुल निर्माणको माग पनि जायज छ । काठमाडौं फर्केपछि आवश्यक पहल गर्नेछु ।”


नेता लेखकले महाकाली कोरिडोर सम्पन्न भएपछि यस क्षेत्रका बासिन्दाको आर्थिक र सामाजिक प्रगति हुने भएकाले करिडोर निर्माणकार्यलाई तीव्रता दिन सरोकारवाला निकायलको ध्यानाकर्षण गराइसकिएको बताए । नेता लेखकले पञ्चेश्वर परियोजनाअन्तर्गतको ड्याम साइडको समेत अवलोकन गरे । पञ्चेश्वर परियोजना नेपाल र भारतको संयुक्त पहलबाट निर्माण हुने भएकाले दुई देशबीच कूटनीतिक पहल चालिएको उनले जानकारी दिए ।
पञ्चेश्वरका स्थानीयवासीले महाकाली करिडोर र नदीमा झोलुङ्गे पुलका बारेमा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै नेता लेखकले महाकाली करिडोर निर्माणमा स्थानीयवासीले पनि चासो दिनुपर्ने बताए । कञ्चपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म ४२५ किलोमिटर लामो महाकाली करिडोरको हालसम्म १२५ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । करिडोरको करिब ५१ प्रतिशत हिस्सा बैतडीले ओगटेको छ । २०८० सालमा निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोरोना महामारीलगायतका कारण काममा ढिलासुस्ती भएको छ ।