काठमाण्डौ – गएरातिदेखि नै तराईका जिल्लामा पानी परिरहेको छ । मनसुनको न्यून-चापीय प्रणाली तराई नजिक रहेकाले त्यस क्षेत्रमा लगातार पानी परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार आज दिनभरि नै तराईका जिल्लामा झरी पर्ने सम्भावना छ ।



उनका अनुसार तराईका सबैजसो क्षेत्रमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी र डुबानको जोखिम उच्च छ । यस्तै, आज पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना छ । तर, पहाडी क्षेत्रमा लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् पौडेले बताए ।


उनका अनुसार मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै, राति पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा राति ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।