धनगढी- कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।
आज कैलाली-कञ्चनपुरका सम्पूणर् सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा रहनेछ । यसअघि प्रदेश सरकारले भदौ १९ गते सार्वजनिक बिदा दिने निणर्य गरेको थियो । तर तिथिअनुसार अटवारी पर्व भदौ १२ गते नै पर्ने भएकाले थारु कल्याणकारिणी सभा (थाकस) को मागपछि सो मिति संशोधन गरी आज पर्वको अवसरमा बिदा दिने निणर्य गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीले जनाएको छ ।

द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको बताइन्छ । अर्कोथरि मतअनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ ।
अटवारी पर्वका बेला थारु समुदायका पुरुषले पानी समेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको पूजा गर्ने गर्दछन् ।
