कोरोना संक्रमणबाट २९ दिनमा ३६ जनाको मृत्यु

काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । नेपालमा चौथो लहर सुरुवात भएपछि मृत्यु हुनेको संख्या क्रमिक रुपमा बढ्दै गइरहेको छ । तेस्रो लहरमा २४ वैशाख २०७९ मा मृत्यु भएपछि कोरोना संक्रमणबाट १ साउनमा पहिलो संक्रमितको मृत्यु भएको थियो । त्यसयता दैनिक एक–दुई जनाको मृत्यु हुँदै आएको छ भने गत २६ गते एकैदिन पाँच जनाले ज्यान गुमाएका थिए

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार साउनयता ३६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश खोप नलगाएका र दीर्घ रोगी रहेका मन्त्रालयका प्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमणबाट मृत्यु हुने ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको छ । खोप नलगाएकाहरू उच्च जोखिममा रहेकाले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरेर आवश्यकता अनुसार कोरोनाविरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले अपिल समेत गरेको छ ।

Navadurga sun

कोरोना संक्रमित भएका ५० प्रतिशत मानिसहरूमा कुनै पनि लक्षण देखिँदैन । तर, खोप नलगाएका मानिस गम्भीर बिरामी पर्ने वा मृत्यु हुने सम्भावना खोप लगाएका मानिसको तुलनामा १० गुणा बढी हुने मन्त्रालयको जिकिर छ । बुस्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ सुरक्षा प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण फैलिन नदिन खोप लगाउने, नाक मुख छोपिने गरी मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, खोक्दा वा हाच्छ्यूँ गर्दा पाखुरादेखि नाडीसम्मको भागले छोप्ने, झ्याल सधैं खुल्ला राख्ने, बेला–बेला साबुन पानीले मिचिमिचि हात धुन मन्त्रालयले अपिल गरेको छ ।नेपालमा हालसम्म ११ हजार ९८८ जना जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा धेरै ६० देखि ६९ वर्ष उमेर समूहका छन् ।

६० देखि ६९ वर्षका दुई हजार ५१३, ७०–७९ वर्षका दुई हजार ३९४, ५०–५९ का दुई हजार ३०५, ४०–४९ का एक हजार ६६६, ८० वर्षमाथिका एक हजार ६४१, ३०–३९ वर्षका ९६७, २०–२९ वर्षका ३८१, १०–१९ वर्षका ५७, ९ वर्षमुनिका ५१ र अज्ञात १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । नेपालमा हालसम्म पूर्ण खोप लगाउनेको संख्या कुल जनसंख्याको ७१ दशमलव २ प्रतिशत अर्थात दुई करोड सात लाख ७१ हजार ३४१ पुगेको छ । त्यसैगरी, ७४ लाख २८ हजार ८८५ ले अतिरिक्त खोप लगाएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...