हावाहुरीले कैलालीमा लाखौंको केराखेतीमा नोक्सानी





अत्तरिया, २४ बैशाख- बिहिबार राति आएको हावाहुरीले कैलालीमा लाखौंको केराखेती नष्ट गरेको छ । हावाहुरीले घारी लाग्ने अवस्थामा रहेका केराका बोट ढालेको छ । हावाहुरीले जिल्लाको टीकापुर, धनगढी, चौमाला लगायतका क्षेत्रमा बढी क्षती पुर्याएको छ ।
कैलाली केरा उत्पादक संघका उपाध्यक्ष टेकेन्द्र धामीले केरा किसानले लाखौं रुपैयाँ नोक्सानी व्यहोर्नु परेको बताए । धामीले प्राय सबै केराबारीमा हावाहुरीले नोक्सान गरेको बताएका छन् ।



कसैको धेरै र कसैको थोरै होला तर सबै बारीमा केराका बोट ढल्नुका साथै घारी लाग्ने अवस्थाको केरा नोक्सान भएको बताए । उपाध्यक्ष धामीको टीकापुर नगरपालिका वडा नं. ४ बाघमारास्थित शुभम एग्रो फर्म अन्र्तगतको बेर्ना नर्सरी पूणर् रुपमा क्षति भएको छ । हावाहुरीले नर्सरीमा रहेका केराका बेर्ना समेत नष्ट गरेको जानकारी दिएका छन् ।


केरा किसान हावाहुरीले नोक्सान गरेको केराको बीमा वाफतको रकम नपाउँदा झनै बढी समस्यामा परेका छन । उनीहरुको केराको बीमा भएपनि सम्बन्धित कम्पनीले भुक्तानीमा समस्या देखाउने गरेका छन । किसानका अनुसार बीमा कम्पनीको भुक्तानी प्रकृया निकै झण्झटिलो हुने गरेको समेत बताए ।
ऋण प्रयोजनका लागि बीमा गर्नैपर्ने हुन्छ तर भुक्तानी माग गर्दा कहिल्यै भुक्तानी हुँदैन । त्यसकारण प्राय किसानले बीमा भुक्तानी माग नै गर्दैनन् उपाध्यक्ष धामीले सुनाए । कैलालीमा करिब १ हजार पाँच सय विगाह क्षेत्रफलमा केरा खेती हुने गरेको छ । सबैभन्दा धेरै टीकापुर नगरपालिकामा मात्रै ५ सय विगाह क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । टीकापुरलाई पछिल्लो समय ‘बनाना हब’ का नामले चिन्ने गरिन्छ । सरकारले समेत टीकापुरमा केराखेती बिस्तारमा पहल गरिरहेको छ । पछिल्लो समय जिल्लाभर केराखेती गर्नेको संख्या ह्वात्तै बढेको छ ।



