कैलाली र कञ्चनपुर रानाथारू समुदायले आइतबार तीज मनाउँदै

कैलाली- कैलाली र कञ्चनपुरमा रानाथारू समुदायले भव्यताका साथ तीज पर्व मनाइरहेका छन्। राना थारू समुदायका महिलाले आइतबार पानीसमेत नपिएर निरहार बसी दाजुभाइको दीर्घायुको कामनासहित तीजपर्व मनाइ रहेका छन्। यस अवसरमा दाजुभाइले दिदीबहिनीका लागि गाउँमा राखिएको डोला (पिङ)खेल्ने चलन छ।

Dadeldhura hospital

तीजका अवसरमा घर–घरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ। तीजका अवसरमा महिलाले घङ्घरिया, अङ्गिया, फतुइ र घुँगट लगाउने गरेका छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन्। कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रूपमा रहेको छ।

Navadurga sun
Godawari sandesh

राना थारू समुदायको तीजपर्वका अवसरमा कञ्चनपुरका दुई पालिकामा सार्वजनिक बिदा दिइएको छ। राना थारू समुदायको तीज विर्सजन हुने दिन साउन १५ (आइतबार) गतेका दिन बेलौरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बेलौरी नगरपालिकाको नवौँ नगरसभाको निर्णयानुसार राना थारू समुदायका तीजपर्वका लागि नगरपालिका मातहतका कार्यालयमा बिदा दिने निर्णय गरेको नगरप्रमुख पोतिलाल चौधरीले बताए।

शुक्लाफाँटा नगरपालिका मातहतका कार्यालयमा कार्यरत राना थारू समुदायका कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टका अनुसार नगरप्रमुखस्तरीय निर्णयबाट राना थारू समुदायका कर्मचारीलाई एक दिन बिदा दिने निर्णय गरिएको छ। त्यस्तै पुनर्वास र कृष्णपुर नगरपालिकाका साथै लालझाडी गाउँपालिकामा पनि तीजको अवसरमा सार्वजनिक बिदा दिइएको छ।

Loading...