कैलालीमा एकहजार ६३२ जनाले एआरटी सेवा लिँदै

धनगढी– कैलालीमा एचआइभी सङ्क्रमितले लिँदै आएको एआरटी सेवा लिनेको सङ्ख्या बढेको छ । यस वर्ष कैलालीमा एआरटी सेवा लिनेको सङ्ख्या एक हजार ६३२ रहेको छ । कैलालीमा अघिल्लो वर्षभन्दा यस वर्ष एआरटी सेवा लिने एचआइभी सङ्क्रमितको सङ्ख्या बढेको छ । एआरटी सेवा लिनेहरू बर्सेनि बढ्दै गएका बताइएको छ । आर्थिक वर्ष २०७७/७८ मा कैलालीमा तीन ठाउँबाट एआरटी सेवा लिनेको सङ्ख्या एक हजार ५६० रहेको थियो । आव २०७८÷७९ मा यो सङ्ख्या बढेर एक हजार ६३२ पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा ७२ जना थपिएका हुन् । टीकापुर अस्पतालमा सञ्चालित एआरटी सेन्टरबाट ५४८ जना एचआइभी सङ्क्रमितले सेवा लिइरहेका छन् । सेवा लिइरहेकामध्ये २५ जना १४ वर्ष मुनिका बालबालिका र अन्य वयस्क नागरिक रहेका छन् । अघिल्लो आव २०७७/७८ को असार मसान्तसम्म ५२७ जनाले टीकापुर अस्पतालबाट एआरटी सेवा लिइरहेका थिए । एक वर्षको अवधिमा २१ जना नयाँ एचआइभी सङ्क्रमितले सेवा सुरु गरेको तथ्याङ्क छ ।

godawari10 Mahila hinsa
Navadurga sun

टीकापुर अस्पतालमा २०६४ सालबाट एआरटी सेवा सुरु भएदेखि अहिलेसम्म ९३८ जना एचआइभी सङ्क्रमित सम्पर्कमा आएका छन् । उनीहरूमध्ये १५९ जनाको मृत्यु भएको, १६४ जना यहाँबाट बाहिर गएका, ६७ जनाले औषधि खान छाडेको र ५४८ जनाले अहिले पनि सेवा लिइरहेका टीकापुर एआरटी सेन्टरका काउन्सिलर सोफिया विकले जानकारी दिए ।

“कोही बसाइँसराइ गरी गएर पनि छाडेका छन्, बसाइँ सरी गएकालाई गएको ठाउँबाट सेवा लिन भनेका छौँ”, उनले भने, “हामीकहाँ नियमित सेवा लिने हुनुहुन्छ, उहाँहरूको सहजताका लागि सङ्क्रमितको अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूले पनि सघाइरहनुभएको छ ।”

Dadeldhura hospital

मालाखेती एआरटी सेन्टरमा ९८ एचआइभी सङ्क्रमितले सेवा लिइरहेका छन् । मालाखेती अस्पतालमा वि.सं २०७४ बाट एआरटी सेवा सुरु भएदेखि अहिलेसम्म ११४ एचआइभी सङ्क्रमित सम्पर्कमा आएका छन् । उनीहरुमध्ये तीन जनाको मृत्यु भएको, चार सम्पर्क बाहिर रहेका, नौ त्यहाँबाट बाहिर गए भने ९८ जनाले अहिले पनि सेवा लिइरहेका मालाखेती एआरटी सेन्टरका काउन्सिलर राजेन्द्र मल्लले जानकारी दिए ।

अघिल्लो आव २०७७र७८ को असार मसान्तसम्म ९२ जना मात्र सम्पर्कमा रहेकामा एक वर्षको अवधिमा २२ नयाँ सङ्क्रमित सम्पर्कमा आएसँगै अहिले जम्मा सम्पर्कमा आएका सङ्क्रमितको सङ्ख्या ११४ पुगेको काउन्सिलर मल्लले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा सञ्चालित एआरटी सेन्टरबाट गएको असार मसान्तसम्म ९८६ जनाले एआरटी सेवा लिइरहेका छन् । अघिल्लो आवको असार मसान्तसम्म ९५३ जनाले सेवा लिइरहेका थिए ।

यो तथ्याङ्क हेर्दा सेती प्रादेशिक अस्पताल धनगढीबाट एआरटी सेवा लिने एचआइभी सङ्क्रमित एक वर्षको अवधिमा ३३ जना थपिएका छन् । सेती प्रादेशिक अस्पतालमा विसं २०६३ बाट एआरटी सेवा सुरु भएदेखि अहिलेसम्म दुई हजार २३७ एचआइभी सङ्क्रमित सम्पर्कमा आएका र अहिले पनि ९८६ जनाले नियमित औषधि सेवन गरिरहेका अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

कैलालीको टीकापुर अस्पताल, मालाखेती अस्पताल र सेती प्रादेशिक अस्पताल धनगढीमा रहेका एआरटी सेन्टरले एचआइभी सङ्क्रमितको रगत परीक्षण, उनीहरुलाई निःशुल्क औषधि प्रदान, स्वास्थ्य जाँच, मनोपरामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेका छन् ।

एचआइभी सङ्क्रमितलाई स्वास्थ्य बीमामार्फत सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको स्वास्थ्य संस्था प्रमुख बताउँछन् । यसका साथै केही पालिकाले उनीहरुको पोषणमा सघाउन आर्थिक सहयोगसमेत गर्दै आएका छन् । कैलालीको टीकापुर नगरपालिकाले सङ्क्रमितलाई पोषणका लागि हरेक वर्ष वार्षिक रु पाँच हजार रकम उपलब्ध गराउने गरेको छ । यसका साथै सङ्क्रमितका बालबालिकालाई निःशुल्क शिक्षा, छात्रवृत्ति र प्राविधिक शिक्षा अध्ययनका लागि सघाउने गरेको पालिकाले जनाएको छ ।

सङ्क्रमितको अधिकारका क्षेत्रमा क्रियाशील नवजीवन एकता समाजका अध्यक्ष जगत भण्डारी सङ्क्रमितका बालबालिकालाई घरको जिम्मेवारीको भार बढिरहेकाले उनीहरुलाई सघाउन आवश्यक रहेको बताउँछन् । “बालबालिकालाई शिक्षामा प्राथमिकता दिनुका साथै आयआर्जन नभएकाले सहयोग आवश्यक छ”, उनले भन, “नियमित औषधि सेवन गर्दा पोसिलो खानेकुरा पनि चाहिन्छ, सङ्क्रमितलाई पोषणको अभाव छ ।”

 

Loading...