चितवनलाई ३–० ले हराउँदै धनगढी शीर्ष स्थानमा


नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनलाई हराउँदै धनगढी एफसी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा पुग्न सफल भएको छ ।
यसैक्रममा धनगढीले ५ मिनेटको अन्तरमा सुरुआती दुई गोल गरेको हो । यो खेलपछि धनगढीको चार खेलबाट सात अंक भएको छ । जितपछि धनगढीले शीर्ष चार स्थानका लागि बलियो दावेदारी पनि प्रस्तुत गरेको छ । चितवन भने तीन खेलबाट दुई अंकमा सीमित रह्यो र अन्तिम स्थानमा झर्यो ।



सुरुआती दुई खेलमा बराबरी खेलेपछि यो चितवनको पहिलो हार रह्यो । यो स्थितिमा चितवन दबाबमा रहनेछ । धनगढीले ६३ औं मिनेटमा पहिलो गोल गरेको थियो र यो निशान लिम्बूको नाममा रह्यो । नाइजेरियाली खेलाडी ओलाडिपो ओलावाले आफिजले हेडबाट दोस्रो गोल गरे । बुद्धबल तामाङले ७९ औं मिनेटमा तेस्रो गोल थपे । पहिलो हाफमा चितवनले गोलको राम्रो अवसर गुमाएको थियो ।


खेलको २२ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको प्रहार धनगढीको गोलरक्षक किरण लिम्बूले जोगाए र त्यसमै फर्केको बलमा जेरकोभिच गोरानको प्रहार पोस्टमा लागेको थियो । दोस्रो हाफको ७८ औं मिनेटमा गोरानको प्रहारले पोस्टका दिशा लिए पनि त्यो अफ साइड रह्यो ।



