बाजुरा, २७ असार– ३ महिना अघिसम्म बाजुराका रणबहादुर थापा बुढीगंगा नगरपालिकाको वडा नम्बर १ मा कार्यालय सहयोगीको रुपमा कार्यरत थिए । उनले मासिक १४ हजार पाउने गरि नगरपालिकाबाट करार नियुक्ति पाएका थिए । तर यहि असार २३ गते भएको स्थानीय तहको चुनावबाट उनी सोही वडाको अध्यक्ष बनेका छन् ।
२०७५ सालदेखि कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका थापाले वडाअध्यक्ष पदमा लड्न गत चैतमा राजीनामा दिएका थिए । उनले नेकपा एमालेसँग आफू वडाअध्यक्ष लड्न इच्छुक रहेको बताएका थिए । सोही आग्रह अनुसार एमालेले उनलाई वडाअध्यक्षको उम्मेदवार बनाउने निणर्य गरेको थियो ।
थापाले नेपाली काँग्रेसका लोकबहादुर थापालाइ हराउँदै विजयी भए । थापाले ४ सय १६ मत पाएका थिए भने पराजित लोकबहादुर थापाले ३ सय ५८ मत ल्याएका थिए । थापाले कार्यालय सहयोगी हुँदा वडाको सम्पूणर् काम गरेको अनुभव सुनाए । ‘मैले वडामा कार्यालय सहयोगी हुँदा धेरैको सेवा गरेको थिए । मलाई जनताका दुःख, पीर र मर्का सबै थाहा छ । ममा वडा कार्यालय चलाउन सबै अनुभव पनि भइसकेको छ’ उनले भने ।
यसअघि उक्त वडाको अध्यक्षमा नेपाली काँग्रेसका राजेशकुमार सिंहसहित पूरै प्यानल विजयी भएको थियो ।
