धनगढी, २५ असार– कैलाली जनपुस्तकालयको अध्यक्षमा पुनः संस्कृतिविद् एबम् सामाजिक अभियन्ता डा.टि एन जोशी निर्वाचित भएका छन् । कैलाली जनपुस्तकालयको विकास र समृद्धिमा अहोरात्र खटिएका डा.जोशीलाई पुस्तकालयको ४५ औं साधारण सभाले पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
डा.जोशीले गत तीन वर्षमा कैलाली जनपुस्तकालयलाई स्मार्ट एबम् सुदूरपश्चिमकै नमूना बनाउने कार्यलाई तिब्रता दिएका छन्। उनले तीन तले स्मार्ट लाइब्रेरी भवन निर्माण कार्यलाई अन्तिम रूप दिएका छन् ।
अध्यक्षमा पुनः निर्वाचित भैसके पछि डा.जोशीले सबैको सल्लाहमा आफू अगाडि बढ्ने र सुदूरपश्चिमकै नमूना पुस्तकालय बनाउने कार्यमा आफू सकृय रहने बताए । उनले पठन संस्कृतिको विकास, सांस्कृतिक कृयाकलापमा तीब्रता, राष्ट्रिय पुरस्कारहरूको स्थापना, इ लाइब्रेरी व्यबस्थापन, पुस्तक खरिद, अतिथि कक्ष, अनुसन्धान कक्ष र बाल कक्षको निर्माणमा जोड दिइने बताए ।
त्यस्तै ४५ औं साधारण सभाको सामाजिक विकास राज्य मन्त्री टेक बहादुर रैकाले उद्घाटन गर्दे पुस्तकालय चेतनाको संबाहक भएको बताउदै पुस्तकालयमा पछिल्लो समयमा भैरहेको विकास र परिवर्तनका लागि धन्यबाद व्यक्त गरे ।
त्यसैगरी साधारण सभाबाट अन्य १० जना सदस्य निर्बाचित भएका छन् । साधारण सभाबाट शिवराज ओझा, टंकप्रसाद जोशी, जयराज जोशी, ठाकुर करियाप्रधान चौधरी, सुशीला भट्ट, शेरसिंह खड्का, दुर्गा प्रसाद भण्डारी, टीआर पाठक, हर्क बहादुर बोहरा र सुभाष संकल्प भण्डारी सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत तेजबहादुर सिंहले बताए । साधारण सभाले सचिब टंक जोशीको प्रतिबेदन र कोषाध्यक्ष गगनसिह ऐरको प्रतिबेदन पारित गरेको छ ।
कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टीएन जोशीको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा पूर्व अध्यक्ष उमाकान्त जोशी, प्राध्यापक जगन्नाथ जोशी, पूर्व अध्यक्ष घनबहादुर शाह र उपाध्यक्ष शिवराज ओझाले मन्तव्य राखेका थिए ।
