धनगढी, २२ असार- कैलालीको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा मेयरले चढने गाडी स्वास्थ्य शाखालाई दिइएको छ ।

बुधबार मेयर गोपाल हमालको उपस्थितीमा उक्त गाडी श्री १००८ स्वामी देवराज आचार्यले स्वास्थ्य शाखा प्रमुख श्री कृष्णबहादुर बोहराज्यूलाई हस्तान्तरण गरेका छन ।
स्थानीयलाई वडामै गएर विशेषज्ञ सेवा सहितको स्वास्थ्य उपचारको लागी सहज होस भनेर गाडीको ब्यबस्था गरेको हो । धनगढी उपमहानगरपालिकाले वडा स्वास्थ्य क्लिनिक सञ्चालन गर्न भाटभटेनी सुपरमार्केट सँग ५ वर्षसम्म २ जना विशेषज्ञ डाक्टरको तलब र भत्ता प्रदान गर्ने यस अघि नै सम्झौता गरीसकेको छ ।
त्यस्तै सामाजिक विकास मन्त्रालयले स्वास्थ्य उपकरण सहयोग गर्ने छ । यही साउन १ गतेबाट धनगढी उपमहानगरपालिकाको हरेक वडामा तालिका अनुसार विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालन हुनेछ । मेयर हमाल भने आफ्नो निजी गाडी प्रयोग गर्दै आएका छन ।
