बैतडीमा भारतीय व्यापारीले ५० लाख ठगेर भाग्यो
बैतडी, १९ असार– बैतडीमा एक भारतीय नागरिकले ५० लाख बढी रकम ठगेर भागेको खुलेको छ । बैतडीमा करिब १५ वर्ष बसेर व्यवसाय गरेका व्यापारी गुल्फाम ठगी गरेर १ वर्षदेखि फरार भएका हुन् ।
भारतमा रुई कम्पनी लिलाम भइरहेको र आफूले किन्ने भन्दै चार वर्षअघि बैतडीका व्यक्तिहरूबाट ५० लाख ऋण निकालेर लगेका उनले कसैलाई पैसा फिर्ता दिएका छैनन् । गुल्फामले बैतडीमा सैलुन, श्रृंगार, खेलौना, सिरक र मोबाइल पसल सञ्चालन गरेका थिए । गुल्फामले एकै जनाबाट १९ लाख रकमसम्म लिएका छन् ।
आफ्नो पाँच लाख रकम ठगेको युनिक सिलाई सेन्टर गोठलापानीका सञ्चालक दिनेश सिनालले बताए । पाँच लाखको आफूले बैंकलाई करिब चार लाख व्याज मात्र तिरिसकेको, तर आफ्नो पैसा उठ्ने अत्तोपत्तो नभएको सिनाल बताउँछन् ।
बैतडीमा रहँदासमेत गुल्फामले जुवा तास खेल्ने र खेलाउने समेत गरेका थिए । उनले बैतडीकै युवतीसँग विवाह गरेका थिए । अहिले दुवैजना फरार छन् । यस विषयमा प्रहरीमा भने मौखिक जानकारी मात्र आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए । भारतीय व्यापारीहरूले सिरकको रुई भित्र लुकाएर ड्रग्सको सप्लाई गर्ने गरेको स्थानियवासी बताउँछन् ।
