बैतडी-धनगढी उडान रोकियको ३ महिना हुँदा समेत उडानको टुंगो छैन




बैतडी, १६ असार– नियमित रूपमा सञ्चालन हुन नसकेको बैतडी—धनगढी उडान फेरि रोकिएको छ । चैतको पहिलो सातातिर भएको उडान त्यसपछि हुन सकेको छैन ।


बैतडीबाट धनगढी समिट एअरले उडान भर्दै आएको छ । उडान रोकिएको ३ महिना भइसक्दा समेत अब कहिले उडान हुने भन्ने टुंगो छैन ।सुरुवातमा शुक्रबार उडान भर्दै आएको समिट एअरले केही समय अघिबाट बिहीबार उडान गर्दै आएको थियो । साताको एक दिन मात्र उडान हुने गरेको थियो ।



यात्रु नभएकोले उडान गर्न नसकिएको बैतडी पाटन विमानस्थल हेर्ने समिट एअरका कृष्ण भट्टले बताए । उनले भने, ‘चैतको पहिलो हप्तातिर एउटा उडान भएको थियो । त्यसयता भएको छैन । अहिले यात्रु अभावका कारण हामीले उडान गर्न सकेका छैनौं ।’ यात्रु कम भएर मात्र उडान गर्न नसकिएको उनले बताए ।
यात्रु भएपछि गर्न सकिने बताए । अन्तिम उडान हुककदासम्म ४ हजार ६ सय भएको भाडा अहिले फेरि बढेको छ । अब ५ हजारमा मात्र उडान भर्न सकिने अवस्था रहेको भट्टले बताए । यता स्थानीय भने भाडा महँगो भएकोले यात्रुहरू नपाइने समस्या रहेको बताउँछन् । बढी भाडाकै कारण आफूहरूले हवाई सुविधा लिन नपाएको उनीहरूको गुनासो छ ।
यही दूरीको अन्य ठाउँको उडान सस्तो भए पनि बैतडीमा सुरुबाटै महँगो भएको स्थानीय कपिल केसी बताउँछन । ‘स्थानीयले चढ्नै नसक्ने भाडा छ अनि कसरी यात्रु पाइन्छन ? सुरुबाटै भाडा व्यवस्थापन हुन नसकेको उनले बताए ।