भागरथी हत्याका आरोपित दिनेश भट्ट प्रहरीद्वारा सार्वजनिक
आरोपित दिनेशलाई पाँच दिन हिरासतमा राख्न अनुमति


बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरि सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए ।



घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाउनुका साथै भट्ट विरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीको भनाई रहेको छ । भट्टको बलात्कार र हत्यामा संलग्न भएको भन्दै भागरथीका दाई शंकर भट्टले छिमेकी १७ वर्षीय दिनेश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएका हुन् । गत माघ २१ गते बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ बीभत्स अवस्थामा शव फेला परेको थियो ।


हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ ।
दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यानमुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख सुवेदीले बताए ।



