

डडेल्धुरा, १३ असार– जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । आइतबार एक कार्यक्रमका बीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।


नगरपालिकाका ११ वटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले बताए ।



स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरूको अथक मेहनतले अमरगढीलाई पूर्ण खोप घोषणा गर्न सफल भएको नगरप्रमुख जोशीको भनाइ छ । उनले भने, ‘पालिकाले महत्वपूर्ण उपलब्धि हाँसिल गरेको छ । नगरभित्रका बालबालिका खोपबाट वञ्चित हुने छैनन् । स्वास्थ्य क्षेत्रलाई हामीले प्राथमिकता दिएका छौँ ।’
खोप पाउनु नैसर्गिक अधिकार भएकाले जिल्लालाई नै पूणर् खोप घोषणा गर्न सबैले हातेमालो गर्नुपर्ने जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले बताए । नगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्नमा महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका खेलेका उनको भनाइ छ ।
पूणर् खोप घोषणामा सहयोग गरेका महिला स्वयंसेविकालाई सम्मान गरिएको छ । एउटा शिशुले जन्मेदेखि १५ महिनासम्म वीसीजी, डिपीटी, पोलियो, पिसिभी, एफआईपीभी, दादुरा, रोटा र टाइफाइड विरुद्धको खोप लगाउने गरेको अमरगढी स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले जानकारी दिए ।

