धनगढी, ११ असार– नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७८ सालको संस्कृति बिधाको राष्ट्रिय स्तरको प्रादेशिक प्रतिभा पुरस्कार धनगढीका साहित्यकार एबम् संस्कृतिविद् डा.टीएन जोशीलाई प्रदान गर्ने निणर्य गरेको छ ।
लामो समयदेखि भाषा, साहित्य, कला र संस्कृतिको विकासमा सकृय डा.जोशीले सुदूरपश्चिमको लोकसंस्कृतिमा बिद्यावारिधि गरेका छन् ।
सुदूरपश्चिमकै प्रमुख साहित्यिक केन्द्र कैलाली जनपुस्तकालयको अध्यक्षसमेत रहनु भएका जोशी पेसाले भाषा साहित्यका प्राध्यापक हुन् । संस्कृति मन्त्रालयले छनौट समितिको सिफारिसका आधारमा डा.जोशीलाई उक्त पुरस्कार प्रदान गर्ने निणर्य गरेको हो ।
यही असार २९ गते भानु जयन्तीका अवसरमा काठमाडौमा हुने विशेष समारोहमा उक्त पुरस्कारबाट प्रतिभालाई सम्मानित गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिभिन्न बिधामा पुरस्कृत हुने प्रतिभाको नाम घोषणा गरेको छ ।
भाषा साहित्य तर्फको प्रादेशिक प्रतिभा पुरस्कारबाट कैलाली क्याम्पसका सहप्राध्यापक तथा समालोचक गणेशराज जोशी सम्मानित हुने भएका छन् ।
