कैलालीका १३ स्थानीय तह मध्ये १२ वटा स्थानीय तहले ल्याए बार्षिक बजेट

अत्तरिया, १०, असार- कैलालीका १३ वटा स्थानीय तह मध्ये शुक्रबार १२ वटा स्थानीय तहले वार्षिक बजेट पेस गरेका छन् ।बजेट प्रस्तुत गर्नेमा धनगढी उप-महानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका र टीकापुर नगरपालिका तथा चुरे, मोहन्याल, कैलारी, जोशीपुर, जानकी, बर्दगोरिया गाउँपालिकाले निर्धारित समयमा आगामी आर्थिक वर्ष ०७९/८० का लागि बजेट ल्याएका छन् ।

संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्र स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु पर्ने प्रवधान रहेको छ ।

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९/८० लागि अनुमानित एक अर्ब ८३ करोड भन्दा बढी बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले एक अर्ब ८३ करोड ८९ लाख २४ हजारको अनुमानित आय-व्यय विवरण आठौं सभाको दोस्रो बैठकमा प्रस्तुत गरेकी हुन् ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ एक अर्ब तीन करोड १९ लाख ७० रुपैयाँ र पुँजीगततर्फ ८० करोड ६९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको जेठ महिनासम्म कुल बजेटको ५३ दशमलव ३० प्रतिशत रकम वित्तीय प्रगति रहेको उपमहानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा एक करोड ६ लाख ३१ हजार ८९७ रकम थप गरी बजेट प्रस्तुत गरेको छ ।

त्यसैगरी गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब २५ करोड आठ लाख ५० हजारको बजेट प्रस्तुत गरेको छ । गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ७१ करोड २३ लाख २५ हजार र पुँजीगततर्फ ५३ करोड ८५ लाख २५ हजार रकम विनियोजन गरेको छ ।

नगरपालिकाले नेपाल सरकारबाट संघीय वित्तीय समानीकरणबाट २१ करोड ४४ लाख, राजस्व बाँडफाँटबाट १७ करोड ३६ लाख ८९ हजार, सशर्त अनुदानबाट ३७ करोड पाँच लाख, विशेष अनुदानबाट दुई करोड, समपूरक अनुदानबाट १ करोड ४० लाख, प्रदेश वित्तीय समानीकरणबाट एक करोड ६९ लाख १० हजार, प्रदेश राजस्व बाँडफाँटबाट ५९ लाख ४९ हजार, स्थानीय राजस्वबाट ६ करोड ९ लाख ९५ हजार पाँच सय, आन्तरिक स्रोतबाट ११ करोड ५३ लाख ६ हजार पाँच सय र संचित कोष मौज्दातबाट २६ करोड आम्दानीको अनुमान गरेको छ ।

त्यसैगरी गौरीगंगा नगरपालिकाले ९० करोड ६४ लाख ७५ हजारको बजेट ल्याएको छ । नगरको १२ औँ नगरसभामा उपप्रमुख भोजबहादुर बमले संघीय समानीकरणतर्फ १७ करोड ७० लाख, सशर्त अनुदानबाट २० करोड ५२ लाख, सशर्त अनुदान पुँजीगतबाट ३ करोड १४ लाख, समपूरक अनुदान पुँजीगतबाट ८० लाख, विशेष अनुदानबाट ५० लाख, प्रदेश समानीकरणबाट १ करोड ३० लाख १९ हजार आयको अनुमानित विवरण पेस गरे ।

त्यसैगरी जोशीपुर गाउँपालिकाले ४८ करोड ११ लाखको बजेट प्रस्तुत गरेको छ । त्यसैगरी दुर्गम मानिएको मोहन्याल गाउँपालिकाले ४४ करोड ८९ लाख १२ हजार रकमको बजेट पेस गरेको छ ।

त्यसैगरी चुरे गाउँपालिकाले ४६ करोड ५१ लाख ५६ हजारको बजेट ल्याएको छ । गाउँपालिकाले शुक्रबार आर्थिक वर्ष २०७९/०८० का लागि गाउ सभाको ११ औं गाउसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मार्फत सो बजेट पेश गरिएको हो ।
त्यस्तैगरी टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८५ करोड रुपैयाँको बजेट ल्याएको छ । ११ औं नगरसभामा नगर उपप्रमुख खडकबहादुर शाहले ८५ करोड आठ लाख ८४ हजार एक सय ६० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा संघीय अनुदानबाट वित्तीय समानीकरणमा २१ करोड १९ लाख, सशर्त अनुदानमा चालु २६ करोड ३४ लाख र पुँजीगत चार करोड ६६ लाख, राजस्व बाँडफाँटमा १४ करोड २१ लाख ५८ हजार, विशेष अनुदानमा दुई करोड र समपूरक अनुदानमा ८० लाख रुपैयाँ बजेटको स्रोतका रुपमा अनुमान गरिएको छ ।भजनी नगरपालिकाले ७० करोड ६९ लाख १७ हजारको बजेट ल्याएको छ । चालुतर्फ १७ करोड ५५ लाख र पुँजीगततर्फ ५३ करोड १४ लाख १७ हजार रुपैयाँको बजेट उपप्रमुख राजु तिरुवाले प्रस्तुत गरेका थिए ।

त्यसैगरी लम्कीचुहा नगरपालिकाले एक अर्ब ३७ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ ।

त्यसैगरी घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब १ करोड २३ लाख २९ हजार रकमको बजेट पेस गरेको छ ।

त्यसैगरी कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५९ करोड २५ लाख २१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

त्यसैगरी जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ६९ करोड ३० लाख बजेट ल्याएको छ । दशौं गाउँसभामा उपाध्यक्ष लालमती कठरियाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि उक्त बजेट ल्याएको बताइन । गाउँपालिकाले चालुतर्फ ४५ करोड ८४ लाख पाँच हजार ५१६ रुपैयाँ र पुँजीगत खर्चतर्फ २३ करोड ५४ लाख ९४ हजार ४८३ रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यसैगरी बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ७६ करोड ७० लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.