धनगढीमा ९ गतेदेखि दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने
धनगढी, ८ असार– कैलालीको धनगढीमा ९ गतेदेखि दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले सूचना जारी गर्दै असार ९ गतेदेखि १६ गतेसम्म दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।

वितरण केन्द्रका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट सहिद गेटदेखि क्याम्पस चोकसम्म सडक विस्तारको क्रममा नाला तथा कल्भर्टमा परेका पुराना पोल हटाउन र विद्युत संरचना स्थानान्तरण गर्नका लागि विद्युत अवरुद्ध हुने भएको हो ।
विहान ८ बजेदेखि अपरान्ह १२ बजेसम्म विद्युत अवरुद्ध हुने धनगढी वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हसनपुर फिडरअन्तर्गत पर्ने नेपाल राष्ट्र बैंक आसपासको क्षेत्र र हसनपुरदेखि क्याम्पस चोक आसपासको क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ ।
