नगरपालिकाले उठाउन थाल्यो जथाभावी राखिएका निर्माण सामग्री

टीकापुर, ८ असार– नगर क्षेत्रको सार्वजनिक स्थानमा जथाभावी राखिएका निर्माण सामग्रीलाई टीकापुर नगरपालिकाले उठाउन थालेको छ । नगरपालिकाको सार्वजनिक सूचनाका बाबजुद पनि अटेरी नगरवासीले राखेका निर्माण सामग्री नगरपालिकाले उठाउन थालेको हो ।

नगरपालिकाको चोक, चौराहा, ओपन स्पेस तथा बाटोको छेउछाउमा अनाधिकृत रुपमा थुपारेका ढुंगा, गिट्टी, बालुवा, ग्राभेल जस्ता निर्माण सामाग्री बुधबारदेखि हटाउन शुरु गरेको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी पटक पटक ताकेता गर्दा पनि अटेर गर्ने निर्माण व्यवसायीका निर्माण सामाग्री नगरपालिकाले हटाउन शुरु गरेको नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

जथाभावी रुपमा राखिएका निर्माण सामाग्रीहरुले नगरपालिकाको स्वरुप नै बिगारेका कारण जबसम्म निर्माण व्यवसायीले ति निर्माण सामाग्रीहरु हटाउदैनन् तबसम्म नगरपालिकाको अभियान जारी रहने प्रमुख डगौरा थारुको भनाई छ ।

Dadeldhura hospital

नगर उप-प्रमुख खडक बहादुर शाहले हामीले पटक पटक सामाग्री उठाउन ताकेता गर्दा पनि केहि निर्माण व्यवसायीले अटेर गर्दा कारवाही स्वरुप यो सामाग्री उठाउनु परेको बताए । उनले नगरपालिकाले सञ्चालन गरेको यो अभियानमा सबैलाई सहभागि भई नगरको सुन्दरता बढाउने कार्यमा सघाउन पनि आग्रह गरेका छन् ।

टीकापुर नगरपालिका वडा नम्बर १ भित्र मात्र ३२ ओटा स्थानमा अनाधिकृत रुपमा ढुंगा, गिट्टी, वालुवा, ग्राभेल थुपारेको तथ्यांक टीकापुर नगरपालिकासंग रहेको छ । ति मध्ये केहि निर्माण व्यवसायीले नगरपालिकाले हटाउने सूचना जारी गर्दा आफै हटाउन शुरु गरेका छन् । त्यस मध्येका एक जना निर्माण व्यवसायी पूणर्बहादुर ठकुल्लाले आफूले पनि पहिले सडकको छेउछाउमा निर्माण सामाग्री थुपारेको र अहिले त्यसलाई हटाउन थालेको बताए ।

अबको दुई दिनभित्र आफूले थुपारेको सबै सामाग्री हटाईसक्ने उनले प्रतिवद्धता जनाएका छन् । तर केहि निर्माण व्यवसायी भने निर्माण सामाग्री हटाउनुको साटो उल्टै वादविवादमा उत्रिएका छन् ।

निर्माण व्यवसायी वादविवादमा उत्रिदा नगरपालिकाको सामाग्री उठाउन गएको नगर प्रमुख र उप-प्रमुख सहितको टोली र निर्माण व्यवसायीबिच केहि समय भनाभन् पनि भएको थियो । सामान उठाउन अटेर गरी भनाभनमा उत्रिएका निर्माण व्यवसायी टीका रावललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

रावललाई अबको केहि दिन भित्र सार्वजनिक स्थानमा रहेका आफ्ना सबै निर्माण सामाग्री हटाउने प्रतिवद्धतापछि सम्झाई बुझाई छोडीएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । नगरपालिकाले उठाएका निर्माण सामाग्रीहरु नगरपालिकाले सार्वजनिक काम नै लगाउने बताएको छ ।

Loading...