धनगढी, ८ असार– नेकपा (एमाले) का कार्यकर्ताले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडी सञ्चालनमा अवरोध गरेर छोडिएका छन् । नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका थिए ।
एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाल धनगढी नगर कमिटीले बुधबार सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका थिए । युवाहरूले आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारी सवारी साधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ-ठाउँमा रोकेर चाबी खोसिदिएका थिए ।
धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि लगायत १ दर्जन गाडी र ५० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर किमिटी संयोजक अविशेक नाथले बताए । नियन्त्रणमा लिइएका सवारीसाधन ५ बजेपछि मात्र छाडीएको बताए । उनले सरकारले मुल्यवृद्धि फिर्ता नलिए थप कडाइका साथ आन्दोलन गर्ने बताए ।
