खोलानाला अतिक्रमण हटाउन उपमहानगर प्रतिवद्ध भएर लाग्ने छ : नगरप्रमुख हमाल





धनगढी, २ असार– हरेक वर्ष बर्सातमा डुबानको समस्या भोग्दै आएका कैलालीको धनगढी उपमहानगरले आगामी वर्ष खोलानालाको अतिक्रमण हटाउन अभियान थाल्ने भएको छ । उपमहानगरले आवश्यक बजेट छुट्याएर अतिक्रमण हटाउन आवश्यक पर्ने सबै काम गर्ने बताएको छ ।


धनगढी डुबानको मुख्य समस्या खोलानाला, कुलो र नहर अतिक्रमण भएकोले बर्सातको पानी बग्ने गरि खोलानाला अतिक्रमण हटाउन उपमहानगर प्रतिवद्ध भएर लाग्ने नगरप्रमुख गोपाल हमालले बताए । ‘धनगढी डुबानको मुख्य समस्या खोलानाला अतिक्रमण हो, यो हटाउन हामीले सुरु गरेका छौँ’ उनले भने, ‘यो वर्ष सुकुटी र कैलाली नालाको अतिक्रमण हटाउछौँ । अर्को वर्ष १९ वटै वडामा भएका/गरेका सबैखाले अतिक्रमण हटाउन काम गर्नेछौँ ।’



धनगढीलाई आगामी ५० वर्षसम्म डुबान हुन नदिन खोलानालाको अतिक्रमण हटाउनु अनिवार्य भएको हमालले बताए । उनले भने, ‘यसअघि पनि नगर कार्यसमितिको पहिलो निणर्य धनगढीको डुबान समस्या हल गर्ने भन्ने थियो ।
अतिक्रमण भएको केही ठाउँमा नापजाँच पनि भएको थियो । अहिले हामी त्यहीँबाट काम गर्दैछौँ । अतिक्रमण हटाउन सबैको समर्थन मिलेको छ, अर्को वर्ष सबै अतिक्रमण खाली गर्ने किसिमले हामी काम गर्नेर्छौँ ।’ उपमहानगरपालिकाले अतिक्रमण हटाउन बजेटको व्यवस्था गर्ने र एकै पटक २०/२६ एक्स्काभेटर र डोजर लगाएर युद्धस्तरमा काम गर्ने दाबी नगरप्रमुख हमालको छ ।
‘धनगढीमा भएको खोलानाला र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सबै एक मत छन्, उपमहानगरपालिका यसको अगुवाई गर्न तयार छ’ उनले भने, ‘हाम्रो भावी सन्ततिलाई राम्रो धनगढी हस्तान्तरण गर्न अहिले काम गर्न जरुरी छ र यसमा सबैको साथ, समर्थन र सहयोग छ ।’



