सुदूरपश्चिममा असार १ गतेदेखि मतदाता नामावली संकलनको काम सुरु
बसाइँसराइको प्रमाणपत्रको आधारमा मतदाता नामावली सार्न पनि सकिने : भट्ट





धनगढी, २ असार– स्थानीय तह निर्वाचनका सबै प्रक्रिया सकिएसँगै मतदाता नामावली संकलनको काम फेरि सुरु भएको छ। निर्वाचन आयोगको निणर्य अनुसार असार १ गतेदेखि मतदाता नामावली संकलनको काम सुरु भएको हो ।



निर्वाचन आयोगले इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्ने र मतदाता नामावली सार्न सक्ने जनाएको छ । नयाँ मतदाता दर्ताको क्रम प्रदेश र संघीय निर्वाचनको मिति घोषणा नहुँदासम्म चल्ने प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताए ।


यो अवधिमा मतदाताले एक जिल्लाबाट अर्को जिल्ला, एक पालिकाबाट अर्को पालिका र एक वडाबाट अर्को वडामा बसाइँसराइको प्रमाणपत्रको आधारमा मतदाता नामावली सार्न सक्ने छन् । यस्तै एकै वडामा रहेका मतदाताले आफ्नो पायक पर्ने निर्वाचन केन्द्रमा मतदान स्थल कायम हुने गरी नाम सार्न निवेदन दिन सक्ने निमित्त प्रमुख भट्टले बताए ।
निर्वाचन कार्यालयले यसअघि तयार भएका मतदाता परिचय पत्र वितरणको काम समेत गरिने जनाएको छ । तयार भएका मतपत्र सम्बन्धित मतदातालाई वडा कार्यालय मार्फत वितरण गर्ने निमित्त प्रमुख भट्टले बताए ।



