धनगढी उपमहानगरपालिका नीति तथा कार्यक्रम तयार गर्दै




धनगढी, ३१ जेठ– धनगढी उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ९६ लाख रुपैयाँको बजेटको सिलिङमा रही योजना बनाउन भनेर सोमबार पत्र प्राप्त गर्यो । वडा कार्यालयले पाएको यो बजेट सिलिङ चालु आर्थिक वर्ष २०७८/०७९ कै कायम रहेको छ ।


विगतमा उपमहानगरपालिकाको कार्यालयले प्रत्येक वडामा बैशाख १५ गतेभित्रै बजेट सिलिङ पठाउने गरेको थियो । यस पटक स्थानीय तहको निर्वाचनलाई कारण देखाउँदै उपमहानगरपालिकाले नीति, कार्यक्रम तथा बजेट ल्याउने समयावधि नजिकिँदै गर्दा वडाहरूलाई पुरानै बजेट सिलिङ पठाउँदै योजना तथा कार्यक्रम निर्माण गर्न परिपत्र गरेको छ ।


धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भागिराम चौधरीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि योजना तथा कार्यक्रम बनाउन वडामा बजेट सिलिङ बढेर आउने अनुमान गरेका थिए । आइतबार पत्र प्राप्त गरेका उनले आगामी आर्थिक वर्षमा ६३ लाख ८२ हजार रुपैयाँको बजेट सिलिङ रहेको बताए ।
वडाध्यक्ष भागिरामले भने- ‘अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा वडामा ९५ लाख रुपैयाँको बजेट सिलिङ रहेको थियो । तर गत आर्थिक वर्ष २०७७/०७८ र चालू आर्थिक वर्ष २०७८/०७९ मा बजेट सिलिङ घटेर आयो । आगामी आर्थिक वर्ष २०७९/०८० का लागि भने पुरानै बजेट सिलिङ कायम गरेर पठाइएको छ ।’

उनले वडाको विकासका लागि बजेट अपुग रहेको बताए । उनले भने, ‘आगामी आर्थिक वर्षको लागि वडामा एक करोड रुपैयाँ बढी बजेट आउने अनुमान गरेको थिए, तर त्यसो भएन ।’ उनले यति थोरै बजेट र कम समयमा योजना तथा कार्यक्रम तयार गर्नुपर्ने बाध्यता रहेको बताए । उनले विगतमा हरेक वर्ष बैशाख १५ गतेभित्रै वडामा बजेट सिलिङ आउने गरेको बताए । निर्वाचनका कारण ढिला गरि बजेट सिलिङ आएको हुन सक्ने उनले बताए ।
वडा नम्बर १ को कार्यालयलाई पनि चालु आर्थिक वर्षकै ९८ लाख रुपैयाँ बढीको बजेट सिलिङमा रहेर योजना तथा कार्यक्रम निर्माण गर्न भनिएको छ । वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले भने- ‘अहिले आगामी आर्थिक वर्षका लागि वडा कार्यालयका लागि बजेट सिलिङ न बढेर आएको छ, न घटेर । पुरानै कायम गरिएको छ ।’
उनले उपमहानगरपालिकाले ढिला गरि बजेट सिलिङ पठाएको गुनासो गरे । वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले ढिला गरि बजेट सिलिङ आए पनि वडा कार्यालयले असार १ गतेभित्रै योजना तथा कार्यक्रम तयारी गरि उपमहानगरपालिकामा पठाउने बताए ।
स्थानीय तहहरूले असार १० गतेभित्रै नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही अनुसार नगर प्रमुख गोपाल हमालको अध्यक्षतामा रहेकोमा बजेट निर्धारण तथा सीमा अनुमान समितिले शुक्रबार १९ वटै वडामा पुरानै बजेट सिलिङलाई पठाउने निणर्य गरेको थियो ।
धनगढी उपमहानगरपालिका वरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझाले नीति, कार्यक्रम र बजेटमा नयाँ योजना तथा कार्यक्रम समावेश गर्न ढिलाई भएकाले वडाहरूमा पुरानै बजेट सिलिङलाई कायम गरि पठाउने समितिले निणर्य गरेको बताए ।
धनगढी उपमहानगरपालिकाले १५ करोडको बजेटमा रही वडाहरूका लागि सिलिङ पठाएको थियो । उनका अनुसार उपमहानगरपालिकामा एक अर्ब रुपैया बढी ऋण रहेको छ । उपमहानगरपालिकाले अहिले १५ करोड रुपैयाँको बजेटलाई बाँडफाँट गरि वडा कार्यालयमा योजना तथा कार्यक्रम बनाउन भनी सिलिङ पठाएको थियो ।