धनगढी, २० जेठ– नागरिक उन्मुक्ति पार्टीले जिल्ला समन्वय समिति कैलालीको संयोजकका लागि ३ वडा अध्यक्षमध्येबाट १ जनालाई अगाडि बढाउने मनसाय बनाएको छ ।
टीकापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष लालवीर चौधरी, भजनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विक्रम चौधरी र जानकी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष इन्द्र चौधरी मध्ये एक जनालाई अगाडि बढाउने सम्भावना रहेकाे छ।
कसलाई अगाडि बढाउने भनेर भोलिमात्रै टुङ्गो लगाउने सो पार्टीका प्रवक्ता दामोदर पण्डितले बताएका छन् । ‘हाम्रो पार्टी नयाँ र सदस्यहरु पनि नयाँ भएकाले हामीले अनुभव हासिल गरेका वडा अध्यक्षमध्येबाट संयोजकका लागि अगाडि बढाउने मनसाय बनाएका छौं’, उनले भने । ‘तर, टुङ्गो लगाइएको छैन । भोलि पार्टीको बैठकबाट निर्णय गरेर एक जनालाई अगाडि बढाउँछौं ।’
नागरिक उन्मुक्ति पार्टी, नेकपा एमाले र माओवादी केन्द्र मिलेर कैलालीमा जिल्ला समन्वय समिति बनाउने सहमति गरेका छन्। तीन दलबीचको सहमति अनुसार जिसस संयोजक नागरिक उन्मुक्ति पार्टीलाई दिइएको छ ।