बैतडी, १९ जेठ– जिल्ला समन्वय समिति बैतडीको निर्वाचन जेठ २४ गते हुने भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको १ महिनाभित्र सो समितिको चुनाव गरिसक्ने प्रावधान अनुसार चुनावको मिति तय भएको हो ।
मुख्य निर्वाचन अधिकृत तिलक बहादुर कार्कीका अनुसार नौ सदस्यीय जिल्ला समन्वय समिति बन्नेछ । यसमा १ प्रमुख, १ उपप्रमुख, ३ महिला सदस्य, १ दलित वा अल्पसंख्यक सदस्य र ३ खुला सदस्य हुनेछन् । चुनावका लागि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले उम्मेदवार हुन पाउने प्रावधान रहि आएको छ ।

मतदाताका रूपमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनेछन् । निर्वाचनका लागि जेठ २१ गते मनोनयन दर्ता हुनेछ । त्यस्तै जिल्लामा सो समितिका पदाधिकारीहरूको निर्वाचनका लागि कुनै एक दलको बहुमत नभएकाले गठबन्धन गर्नुपर्ने बाध्यता छ ।
स्थानीय तहको निर्वाचनमा पनि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले गठबन्धन गरेकाले समन्वय समितिको चुनावमा पनि दुवै दलले गठबन्धन गर्ने बताइएको छ । दुवै दलले गठबन्धन गरेमा उनीहरूको बहुमत पुग्ने देखिएको छ ।
जिल्लामा १० स्थानीय तह छन् । जिल्लामा सो समिति गठनका लागि मतभारको संख्या २० छ । यहाँ काँग्रेसको मतभार नौ छ । उसले डिलासैनी गाउँपालिका उपाध्यक्ष, दशरथ चन्द नगरपालिका उपप्रमुख, पाटन नगरपालिका प्रमुख, पुर्चौडी नगरपालिका प्रमुख-उपप्रमुख, मेलौली नगरपालिका उपप्रमुख, शिवनाथ गाउँपालिका अध्यक्ष, सिगास गाउँपालिका अध्यक्ष र सूर्नया गाउँपालिकामा उपाध्यक्ष जितेको छ । एमालेको मतभार आठ छ ।
एमालेले दशरथचन्द नगरपालिका प्रमुख, दोगडाकेदार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, पञ्चेश्वर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शिवनाथ गाउँपालिका उपाध्यक्ष, सिगास गाउँपालिका उपाध्यक्ष र सूर्नया गाउँपालिका अध्यक्ष जितेको छ । माओवादी केन्द्रको मतभार दुई छ । उसले पाटन नगरपालिका उपप्रमुख र मेलौली नगरपालिका प्रमुख जितेको छ । त्यहाँको डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन् ।