धनगढी, १९ जेठ– इलाका प्रहरी कार्यालय सुखड कैलालीको एक थुनुवा कैदी हतकडी सहित फरार भएको छ । जेठ १८ गते मेडिकलका लागि सुखडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडी सहित फरार भएका छन् ।

जेठ १४ गते घोडाघोडी २ साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषधको मुद्दामा पक्राउ गरी थुनामा राखेको थियो । दुवैजनालाई मेडिकल जाँचका गरी स्थानीय घोडाघोडी अस्पतालबाट फर्कने क्रममा कृष्ण पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) वेद जोशीले जानकारी दिए ।
दुवैलाई जेठ १८ गते पेटको समस्या भन्दै उनीहरूलाई मेडिकलका लागि लगिएको थियो । ‘दुवैजनालाई एक हतकडी लगाएको थियो’ प्रहरी नायव उपरीक्षक जोशीले भने-‘प्रकाशको भने हातबाट हतकडी फुत्क्यो कृष्ण हतकडीसहित भागेका हुन्।’
दुवै जनालाई म्याद थप गरी इलाका प्रहरी कार्यालय सुखडमा राखी थप अनुसन्धान भइरहेको थियो । अहिले फरार भएका थुनुवालाई खोजीका लागि जिल्ला र इलाकाको टोली खटिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए ।