सुदूरपश्चिम प्रदेशलाई संघीय सरकारबाट १७ अर्ब ५५ करोड बजेट
धनगढी, १९ जेठ– अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत संघीय सरकारले सुदूरपश्चिम प्रदेशलाई साढे १७ अर्ब बजेट अनुदान दिने भएको छ ।
सरकारले ७ प्रदेशका लागि छुट्याएको कुल १ खर्ब २९ अर्ब ४६ करोड बजेटमध्ये सुदूरपश्चिम प्रदेशलाई १७ अर्ब ५५ करोड ८३ लाख बजेट अनुदान दिने भएको हो ।

यसरी हस्तान्तरण हुने रकमध्ये सुदूरपश्चिम प्रदेशको हकमा १० अर्ब ९० करोड रुपैयाँ चालू प्रयोजनमा र ६ अर्ब ६५ करोड रुपैयाँ पुँजीगत प्रयोजनमा खर्च हुनेछ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरणअनुसार सबैभन्दा बढी बागमती प्रदेशले सबैभन्दा २० अर्ब ३२ करोड बजेट पाउने छ भने गण्डकी प्रदेशले सबैभन्दा कम १६ अर्ब ५४ करोड बजेट पाउने छ ।
सुदूरपश्चिम प्रदेश सबैभन्दा कम बजेट पाउनेमा दोस्रो नम्बरमा छ । सरकारले संघबाट चार प्रकारका अनुदान वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान तल्लो सरकारमा पठाउने गरेको छ ।