कैलालीको गोदावरी नगरपालिकाका नबनिर्वाचित कार्यपालिका सदस्यहरुले सपथ लिए

अत्तरिया, १६ जेठ- कैलालीको गोदावरी नगरपालिकाका नबनिर्वाचित कार्यपालिका सदस्यहरुले सपथ लिएका छन । सोमबार नगरप्रमुख विरेन्द्र भट्टले नवनिर्वाचित ८ जना कार्यपालिका सदस्यहरुलाई सपथ खुवाएका हुन । कार्यपालिका सदस्यमा ५ महिला सदस्य र ३ दलित सदस्य निर्विरोध चयन भएका थिए ।

नगरपालिकाको दलित वा अल्पसंख्यक सदस्य पदमा ३ जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित थिए । निर्विरोध निर्वाचित हुने तिनै जना नेपाली कांग्रेसका महादेव कामी, चन्द्रा देवी भूल र धनी कामी रहेका छन ।

त्यसैगरी नगरपालिकाको महिला सदस्यमा पदमा पनि ५ जनाको मात्रै आवेदन परेपछि निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरेको थियो ।

निर्विरोध निर्वाचित हुने सबै महिला सदस्य पनि नेपाली कांग्रेसकै रहेका छन । निर्वाचित हुनेमा इश्वरा नेपाली, बसन्ती देवी थरुनी, शारदा देवी भट्ट, डम्बरी शाहु र इश्वरी रावल रहेका छन । नगरपालिकामा नगरप्रमुखको अध्यक्षतामा नगर कार्यपालिका गठन हुने प्रावधान रहेको छ । जसमा उपप्रमुख, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष, ५ जना महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट ३ जना सदस्य रहन्छन् ।

स्थानीय कार्यपालिकामा महिला उम्मेदवारहरु स्थानीय तहको निर्वाचन जितेर आएका मध्येबाटै छान्नुपर्ने व्यवस्था छ भने दलित वा अल्पसंख्यकको उम्मेदवार भने बाहिरबाट हुने तर उनीहरु सम्बन्धित गाँउ वा नगरपालिकाका मतदाता भने हुनुपर्ने प्रावधान छ ।

गोदावरीमा १२ वडा रहेकाले नगरप्रमुखको अध्यक्षतामा २२ सदस्यीय कार्यपालिका गठन भएको छ । जसमा नगरप्रमुख सहित कांग्रेसबाट १६ जना, एमालेबाट उपमेयर सहित ५ जना र वडा अध्यक्ष स्वतन्त्रबाट १ जना रहने छन । यसरी हेर्दा कार्यपालिकामा कांग्रेसको दुई तिहाइ बहुमत पुगेको छ ।

Loading...