कैलाली जिल्ला समन्वय समितिको यस्तो छ मतभारको अंकगणित

धनगढी, १० जेठ- निर्वाचनको नतिजा आएसँगै कैलालीमा अब जिल्ला समन्वय समितिमा गठनतिर राजनीतिक दलको ध्यान सोझिएको छ । कैलालीमा १३ वटा स्थानीय तह रहेका छन् । जिल्लामा रहेका स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले जिल्ला समन्वय समितिका उम्मेदवारलाई मतदान गर्न पाउने व्यवस्था छ । त्यसले जिल्ला समन्वय समितिमा मतदान गर्न पाउने मतभार २६ हुन आउँछ ।

जिल्लामा नेपाली कांग्रेसले कैलारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, गोदावरी नगरपालिका प्रमुख, गौरीगंगा नगरपालिका उपप्रमुख, घोडाघोडी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका उपाध्यक्ष, मोहन्याल गाउँपालिका उपाध्यक्ष र लम्की चुहा नगरपालिका प्रमुख जितेको छ । कांग्रेसको मतभार ८ रहेको छ । त्यस्तै एमालेले गोदावरी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका प्रमुख, धनगढी उपमहानगरपालिका उपप्रमुख, बर्दगोरिया गाउँपालिका अध्यक्ष र लम्कीचुहा नगरपालिका उपप्रमुख जितेको छ । उसको कूल मतभार ५ रहेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले गौरीगंगा नगरपालिका प्रमुख, टिकापुर नगरपालिका उपप्रमुख, बर्दगोरीया गाउँपालिका उपाध्यक्ष र मोहन्याल गाउँपालिका अध्यक्ष जितेको छ । उसको मतभार ४ छ । नेकपा एकीकृत समाजवादीले भने घोडाघोडी नगरपालिकाको प्रमुखमात्रै जितेको छ । उसको मतभार १ रहेको छ । त्यस्तै ४ महिनाअघि दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले जानकी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जोशीपुर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, टिकापुर नगरपालिका प्रमुख र भजनी नगरपालिकाको प्रमुख उपप्रमुख जितेको छ । उसको मतभार ७ रहेको छ। यता धनगढी उपमहानगरपालिकाको प्रमुख जितेका स्वतन्त्र उम्मेदवारको मतभार १ रहेको छ ।

यसरी हेर्दा जिल्लामा एक्लै समन्वय समिति गठन गर्ने गरी कुनै पनि पार्टीले स्थानीय तह जितेको छैन । गठबन्धन दलले सहमति गरे पनि कैलालीमा समन्वय समिति बनाउने स्थिति देखिएको छैन । सोही कारण स्वतन्त्र उम्मेदवारको सहयोग भएमा मात्रै उनीहरुले समन्वय समिति बनाउन सक्नेछन् । एमाले र नागरिक उन्मुक्ति पार्टी मिल्दा पनि समन्वय समिति बनाउन सक्ने स्थिति देखिएको छैन । यहाँ सबै दलले सहमति गरेर मात्रै समिति बनाउन सक्ने देखिएको छ ।

Loading...