छोरी जन्मिएको परिवारलाई प्रोत्साहन भत्ता दिने लम्कीचुहा नगरप्रमुख शाहीको पहिलो निणर्य

धनगढी, १० जेठ- कैलालीको लम्कीचुहा नगरपालिकाकी नवनिर्वाचित नगरप्रमुख सुशीला शाहीले कार्यभार सम्हालेकी छन् । कार्यभार सम्हालेसँगै उनले पहिलो बैठकबाट तीन वटा निणर्य गरेकी छन् ।

जसमा पहिलो भूमिहीन, सुकुम्बासी, दलित, मुक्तकमैया तथा अव्यवस्थित बसोबास गरेकाहरुलाई आर्थिक वर्ष ०७९/८० भित्र जग्गाधनी लालपुर्जा वितरण गर्ने रहेको छ ।

Bhancha ghar0

त्यसैगरी ‘हाम्रो मेयर हाम्री छोरी’ कार्यक्रम अन्तर्गत लम्कीचुहा नगरपालिकामा बसोबास गर्ने घरपरिवारमा छोरीको जन्म भएमा प्रोत्साहन स्वरुप नगद दुई हजार रुपैयाँ प्रदान गरिने र लम्कीचुहा नगरपालिका क्षेत्र अन्तर्गतका पूर्वपश्चिम राजमार्गको चोकमा सिसिटिभी सहितको टावरबत्ती जडान गरिने रहेको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार बनेकी शाही कैलालीकै पहिलो महिला प्रमुख हुन् । उनी लम्कीचुहा नगरपालिकाको मेयरमा अत्याधिक मतले विजयी भएकी हुन् । निवर्तमान मेयर महादेव बजगाईंंलाई २ हजार २७८ मतले पराजित गरेकी नवनिर्वाचित नगरप्रमुख शाहीले १२ हजार ७१३ मत प्राप्त गरेकी छन् भने मेयरमा पराजित बजगाईंले १० हजार ४३५ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी जुना चौधरी विजयी भएकी छन् । उनले १० हजार ७०८ मत पाएकी छन् । उनले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी जानकी सिंहलाई पराजित गरेकी हुन् । सिंहले ८ हजार ३०८ मत पाएकी थिइन् ।

कुल १० वटा वडामध्ये ५ वटामा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका तर्फबाट वडा नं ३ मा लव शाही, वडा ६ मा लोकेन्द्र कठायत, वडा ७ मा भगवानदिन चौधरी, वडा ९ मा रामप्रसाद चौधरी र वडा १० मा हर्क कठरिया विजयी भएका छन् ।

Leave A Reply

Your email address will not be published.