अत्तरिया, ७ जेठ- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको लामितालाई पर्यटकिय क्षेत्रका रुपमा अगाडी बढाउन मेयर बिरेन्द्र भट्टले पहल सुरु गरेका छन । पदभार ग्रहण गरेको दोस्रो दिन लामितालमा पुगेका भट्टले यसको सम्भावनाको बारेमा अध्ययन अवलोकन गरेका हुन ।

सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक कृष्ण दत्त भट्ट संग लामिताल परिसरमा पुगेका मेयर भट्टले लामिताललाई कसरी प्रयटकिय क्षेत्रका रुपमा विकास गर्न सकिने हो । त्यसका लागि वन निर्देशनालयले कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयका बारेमा छलफल गरेको मेयर भट्टको कार्यालयले जनाएको छ ।
अत्तरियाको बषपार्क देखि हिडेरै ५ मिनेटमै पुग्न सकिने यो तालमा पर्यटकीय सम्भावना धेरै भएपनि यसको लागि आवश्यक पुर्वाधार प्रचारप्रसारको अभावले ओझेलमा परेको छ ।
आर्थिक बर्ष २०७५/०७६ मा गोदावरी नगरपालिकाले उपभोक्ता समिति मार्फत तालको सरसफाई, तालको वरपर बाटो निर्माण र तालको वरपर बस्नको लागि १५ ओटा फलामका रेस्टबेन्च, पानी निकासका लागि रेगुलेटर जडान गरेको भएपनि अहिले ति संरचनाहरुको आवश्यक रेखदेख नहुँदा जिर्ण हुन गएका छन् । अत्तरिया बजार नजिकै भएकाले यसको प्रचार प्रसार गर्न सके गोदावरीको विकासमा ठूलो टेवा पुग्ने सरोकारवालाहरुले बताउँदै आएका छन ।