डोटेलीको एउटै मतः विद्युत र सञ्चार ल्याउनेलाई मात्रै भोट

डोटीको बडिकेदार गाउँपालिका–६ घागलका श्याम सापकोटा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँमा भोट माग्न आउने उम्मेदवारलाई जसले विद्युत् र सञ्चार बिस्तार गर्छ उसैलाई भोट दिने पक्षमा आफूहरू रहेको बताउछन्। “हाम्रा अधिकांश गाउँ वर्षौंदेखि विद्युत् र सञ्चार सम्पर्कविहीन अवस्थामा छन्, जसले विद्युत् र सञ्चार बिस्तार गर्छु भनेर कमिटमेन्ट गर्छ उसैलाई हाम्रो भोट दिइन्छ”, उनले भने।

उनका अनुसार डोटीका अधिकांश ग्रामीण क्षेत्रका नागरिकले विद्युत् र सञ्चार बिस्तार गर्ने राजनीतिक दलका उम्मेदवारलाई मात्रै भोट दिने बताउँदै आएका छन्। डोटीका दजनौँ गाउँ अहिले पनि विद्युत सेवा तथा सञ्चार सुविधा नभएका कारण सञ्चार सम्पर्कविहीन अवस्थामै छन्।

Navadurga sun

गाउँमा कुनै पनि घटना भए तत्काल जानकारी दिन यहाँका नागरिकले कम्तीमा पनि एक घण्टाको पैदल दूरी हिँडेर सञ्चार सम्पर्क भएका ठाउँमा गएर सम्पर्क गर्नुपर्ने बाध्यता कायमै रहेकाले यहाँका गाउँघरमा विद्युत् र सञ्चारको अति आवश्यक रहेको जोरायल–६ कै लोकेन्द्रबहादुर छेडालले बतनए।

उनले भने, “गाउँमा विद्यालय छन्, सडक पुगेका छन् तर विद्युत् र सञ्चार छैन, राति कुनै घटना भए कसरी खबर गर्ने त्यो समस्या यहाँका नागरिकमा छ, गाउँघरमा विद्युत् र सञ्चार सुविधा आवश्यक भएकाले पनि यसपालिको चुनावमा उम्मेदवारसँग विद्युत र सञ्चार माग्न बाध्य भएका हौँ।”

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि यहाँका राजनीतिक दलका नेता आफ्नो चुवानी अभियानलाई गाउँगाउँमा लगिरहेका बेला डोटीका ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकले भने विद्युत् र सञ्चार दिने लिखित सम्झौता गर्नेलाई मात्रै भोट दिने बताउँदै आएको स्वयं उम्मेदवार बताउँछन्।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का जोरायल गाउँपालिकामा अध्यक्षका साझा उम्मेदवार किरण मल्लले गाउँमा भोट माग्न जाँदा विद्युत् र सञ्चार चाहियो भन्ने माग मात्रै नागरिकको रहेको बताए। उनले भने, “गाउँमा नागरिकलाई विद्युत् र सञ्चारको निकै आवश्यकता रहेको पाइयो, त्यो काम अब हामी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ र गर्छौँ पनि।”

डोटीका हरेक उम्मेदवार स्थानीय नागरिकका घरदेखि खेतबारीमा भोट माग्न रातदिन खटेको बताउँदै यहाँका मतदाताको माग भने विद्युत र सञ्चार बिस्तारकै रहेको आफुले पाएको नेपाली कांग्रेसबाट जोरायल गाउँपालिकाको अध्यक्षका अर्का उम्मेदवार दीपककुमार विष्टले बताए। “हामीले भोट माग्यौँ, उहाँहरुले विद्युत र सञ्चार माग्नुभएको छ, उहाँहरुको माग पूरा गर्ने वाचा पनि गरेका छौँ” उनले भने।

उम्मेदवार आफूले बोलेका वाचा पूरा नगर्ने परिपाटीका कारण अहिले वाचा गरे पनि पछि पूरा नहुने चिन्ता नागरिकमा थपिएको अर्का स्थानीयवासी चक्रबहादुर भाटले बताए। उनले भने, “नेताहरु बोलेका कुरा पूरा गर्दैनन् आफ्नै वाचा बिर्सिने भएकाले नागरिकले विश्वास गर्न छोडेर निरास बन्ने गर्छन्।” डोटीमा ६५ हजार २७१ महिलासहित एक लाख २३ हजार ५५३ मतदाता रहेका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...