कैलालीमा ८६९ प्रजातिका वनस्पति पाइने गरेको वैज्ञानिक रुपमा पुष्टि





धनगढी, २८ चैत– वनजङ्गल र सिमसार क्षेत्र रहेको कैलालीमा ८६९ प्रजातिका वनस्पति पाइने गरेको छ । यो जिल्लामा ८१२ प्रजातिको फूल फुल्ने र ५७ उन्यू प्रजाति गरेर ८६९ प्रजातिका वनस्पति पाइने गरेको वैज्ञानिक रुपमा पुष्टि भएको वनस्पति अनुसन्धान केन्द्र कैलालीले जानकारी दिएको छ ।



२३ औं वनस्पति दिवसको अवसरमा सो कार्यालयले पत्रकारसंग अन्तरक्रिया गर्दै यहाँ पाइने गरेको वनस्पतिको तथ्याङ्क सार्वजनिक गरेको हो । जसमध्ये ५०२ प्रजातिका वनस्पतिलाई स्थानीयले परम्परागत ज्ञान र सीपका आधारमा प्रयोग गर्दै आएका केन्द्रले जानकारी दिएको छ ।


परम्परागत ज्ञान र सीप धेरै राम्रो रहेको र त्यो हराउन नहुने वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गङ्गादत्त भट्टले बताए। उनले कैलालीमा दुई वटा वनस्पति उद्यानमा वनस्पतिको संरक्षण हुँदै आएको जानकारी दिएका थिए ।
धनगढी उपमहानगरपालिका वडा नं. ७ स्थित देवहरिया वनस्पति उद्यानमा विभिन्न प्रजातिका वनस्पतिको संरक्षण गरिएको छ। १४९.५ हेक्टर क्षेत्रफलमा रहेको सो उद्यानमा विजयसाल, बेंत, वनमूला, खयर, सुनाखरी र लौठ सल्लाको स्वस्थानीय संरक्षण भइरहेको प्रमुख भट्टले बताए ।



