एमालेद्वारा गाउँपालिका उपाध्यक्ष कारवाहीमा




बैतडी, २४ फागुन– नेकपा एमााले बैतडीले जिल्लाको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई कारवाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।


वि स २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हित विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो । मंगलबार जारी गरिएको प्रेस विज्ञप्तीमा राष्ट्रिय सभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको छ ।



माघ १२ गते भएको राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका पाँच जना प्रमुख/उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानविन गरी कारबाही गर्न निर्देशन दिएको थियो । ‘पार्टीको निर्देशन बमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र वेवास्ता गर्दै हिड्ने, सामाजिक सञ्जालमा पार्टीको नीति, नेतृत्व बिरुद्ध जाने र बिरोधी पार्टीसँग साठगाठ गरी पदीय आचरणको दुरुपयोग गरेको भेटिएको छ,’ जिल्ला अध्यक्ष सुरेन्द्र पाल र सचिव चक्र कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,‘हाल पनि विरोधी पार्टीसँग हिमचिम गरेकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।’
यस्तै पार्टीलाई बुझाउनु पर्ने लेबी समेत नबुझाएको, पार्टीको हित विपरीत काम गरेको र स्पष्टीकरण सोध्दा समेत नदिएकोले चन्दमाथि कारवाही गरिएको जनाएको छ । एमाले सामन्तवादी रहेको संज्ञा यसैबीच नेकपा एमालेबाट कारबाहीमा परेकी चन्दले एमालेलाई सामन्तवादीको संज्ञा दिएकी छन् ।
एमालेले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नाका लागि आजको दिन ऐतिहासिक भएको भनेकी छन् । उनले आफूले सामन्तवादीहरुको शोषणबाट मुक्त पाएको दिन भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन् । उनले फेसबुकमा लेखेकी छन् ‘ऐतिहासिक दिन, सामन्त वादीहरुको शोषणबाट मुक्ति पाएको दिन् ।’



