पीपीएल क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लवले हात पार्याे
बैतडी, २० फागुन– बैतडीको पाटनमा सम्पन्न पहिलो संस्करणको पाटन प्रिमियर लिग(पीपीएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लव,जर्गले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लवलाई ४ रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो ।



कैलपालको यो लगातार पाचौं उपाधि हो । यसअघि बैतडी र दार्चुलाका विभिन्न प्रतियोगिता समेत जितिसकेको छ । फाइनल भिडन्तमा टस जितेर पहिला ब्याटिङ गरेको कैलपाल १८.३ ओभरमा १७० रनमा समेटियो । जसमा मुकेश चन्द र राजु भाटले सर्वाधिक २३/२३ रन बनाए । पाटनका दीपेन्द्र चन्दले ४ विकेट हात पारे । श्रीकृष्ण माविको खेलमैदानमा १७१ रनको लक्ष्य पन्छाएको पाटनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदैं १६६ रन मात्रै जोड्न सक्यो ।



पाटनका लागि पंकज चन्दले ५५ रनको योगदान गरेपनि हार टार्न नसक्दा उपविजेतामै चित्त बुझायो । कैलपालका मुकेश चन्दले ३ विकेट हात पारे । उनी म्यान अफ द फाइनल समेत चुनिएका स्कोरर किरन चन्दले जानकारी दिए । उपाधिसंगै कैलपालले ५५ हजार ५५५ र पाटनले २२ हजार २२२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडी र बेस्ट ब्याट्सम्यान पाटनका विकास विष्ट भए । पाटनकै दीपेन्द्र चन्द बेस्ट बलर भए । सर्वोत्कृष्टले ३ हजार ३३३ तथा बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १ हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाए । विजेता तथा उपविजेता टोलीलाई बैतडीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द लगायतले पुरस्कार वितरण गरेका थिए ।
पाटन क्रिकेट क्लवको आयोजनामा फागुन १३ गतेदेखि शुरु भएको प्रतियोगितामा १५ टोलीको सहभागीता रहेको थियो । आगामी वर्षहरुमा पनि यो प्रतियोगितालाई निरन्तरता दिदैं थप भव्य र सभ्य बनाउने आयोजक पाटन क्रिकेट क्लवका अध्यक्ष पारस विष्टले बताए ।




