डडेल्धुरामा टिप्पर दुर्घटनामा १ जनाको मृत्यु, १ जना घाइते
डडेल्धुरा, १४ फागुन– डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं. २ का २२ वर्षीय टिप्पर चालक दीपक ऐर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।




दुर्घटनामा परी १ जना घाइते भएका छन् । घाइते हुनेमा दाङ घर भएका सहचालक १७ वर्षीय असिम चौधरी रहेको डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।


शनिबार अपरान्ह अमरगढी नगरपालिका वडा नं. ५ बगरबाटास्थित सुकेधाराको भिरबाट सुप ००१ क १८७९ नम्बरको टिप्पर २ सय मिटर तल खसेको थियो ।
टिप्पर तुफानडाँडाबाट बागबजार गइरहेको थियो । घाइते चौधरीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको छ । मृतकको शव पनि डडेल्धुरा अस्पतालमै राखिएको छ । दुर्घटनाको कारण भने अझैं नखुलेको सूचना अधिकारी चन्दले जानकारी दिए ।




